बर्दिया : महिला र बालबालिका माथि हुने हिंसाको घटनामा बृद्दि

गुलरिया, बर्दिया : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बर्दियाको आयोजनामा २०७९ पुस ११ गते नेपाल मानव अधिकार वर्ष पुस्तक वार्षिक सम्पादन पूर्व समिक्षा कार्यक्रममा सरोकारवालाहरुले महिला र बालबालिका माथिको हिंसाका घटनाहरु बढेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले विभिन्न गैर सरकारी संघ–संस्था, स्थानीयतह तथा सरकारी संयन्त्र हुदाँ पनि महिला र बालबालिका माथिको हिंसाका घटनाहरु बढिरहनु चिन्ताको विषय भएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले वर्ष पुस्तकका लागि संकलित घटनाहरु नमूना मात्र रहेको र ग्रामिण क्षेत्रमा अझ धेरै घटना अभिलेख गर्न पर्ने र समुदायमा विभिन्न प्रकारका घटनाहरुलाई सरकारी तथा गैरसरकारी माध्यबाट उजागर गर्न जरुरी रहेको बताउनु भएको छ । सो अवसरमा इन्सेक जिल्ला प्रतिनिधी मान बहादुर चौधरीले कार्यक्रमको उद्देश्यका बारेमा बोल्दै सन् २०२२ जनवरी देखि डिसेम्बरसम्म संकलन गरि अभिलेख गरेको ८९ वटा घटना सहितको प्रतिवेदन सार्वजनिक गर्नुभयो । सन् २०२२ जनवरी देखि डिसेम्बरसम्म ८९ वटा आपराधिक घटनाको तथ्याङ्ग इन्सेकले सार्वजनिक गरेको छ ।

मानव अधिकार वर्ष पुस्तक सार्वजनिक पुर्व सरोकारवालाहरुका बिच छलफल कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । जसमध्ये सुरक्षाकर्मीको गोली लागि १ जनाको मृत्यु, महिला हत्या २ जना, महिला हत्या प्रयास १ जना, महिला आत्महत्या दुरुत्साहन १ जना, महिला बलात्कार २० जना, बलात्कार प्रयास ४ जना, दुव्र्यवहार ५ जना भएको इन्सेक बर्दियाका प्रतिनिधि मान बहादुर चौधरीले जानकारी दिनुभयो । सबैभन्दा बढि बालिका बलात्कारको घटना तथ्याङ्कमा देखिएको छ । तथ्याङ्क अनुसार बालिका बलात्कार ३६ जना, बलात्कार प्रयास र यौन दुव्र्यवहार ८ जना, मानव वेचविखन २ जना, बालविवाह ३ जना र बहुविवाह ६ वटा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले औपचारिक रुपमा घटनाको प्रहरीमा जाहेरी नआएसम्म घटनाले मुद्दाको स्वरुप लिन नसक्ने प्रष्ट्याउनु भयो । बालविवाह र बहुविवाहलाई अहिले पनि समाजले अपराधको रुपमा नलिने गरेकाले यस्ता किसिमका घटनाहरु घटिरहेको भएता पनि परम्परागत सोचका कारण यस्ता घटना प्रहरी समक्ष नआउने गरेको बोहोराले बताउनु भयो । धेरै घटनाहरु गाँउमै मिलापत्र गर्ने र उजुरी प्रक्रियामा नआउनाले कानुनी कारवाही प्रक्रिया शुरु गर्न नसकिरहेको बताउँदै यसमा राजनीतिक दल तथा जनप्रतिनिधिहरु र गाँउका अगुवाहरुले नै घटना लुकाउने पक्षमा भएकोले अपराधिक घटनामा कमि आउन नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नागरिक समाज संजाल बर्दियाका अध्यक्ष हिमा सुनारले लैगिंक हिंसाका घटनाहरु समुदायमा धेरै भएको बताउनु भयो । हाडनाता पर्ने व्यक्तिबाट घटाइएको घटना बढि आउने गरेको बताउनु भएको छ । समुदायमा अहिले बालविवाह, तथा अन्य घटानाहरु परिवार तथा समुदायमा मिलाउन सकिएन भने मात्र दर्ता हुने वा कानुनी बाटो रोज्ने गरेको सुनारले बताउनु भयो । जाति, वर्ग, धर्म मिलेपछि चुप हुने र अन्तरजातीय वा धनि गरिब परेपछि मात्र मुद्दा दर्ताका लागि कानुनी प्रक्रियामा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधि, पत्रकार, प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायको सहभागिता रहेको थियो । सहभागिहरुले बालविवाहका घटना कानुनी प्रक्रियामा आउन नसकेको कुरामा जोड दिएका थिए ।

Loading...