
बर्दिया : बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाका पत्रकारहरु तथा बारबर्दिया नगरपालिका वडा नम्बर १ देखि ५ सम्मका वडा सदस्यहरु बिच प्रारम्भिक बालविकासको अवस्था र स्याहारमा बुवाको सहभागिता तथा जिम्मेवारी विषयको अन्तरक्रिया गरिएको छ । थारु महिला उत्थान केन्द्र बर्दियाको आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बारबर्दिया नगरपालिका–३, बेलवाबज्जामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
विगत २ वर्ष देखि थारु महिला उत्थान केन्द्र बर्दियाले बालबालिकाको सपना परियोजना बर्दिया जिल्लामा संचालन गर्दै आई रहेको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका सबै वडा, बारबर्दिया नगरपालिकाको १ देखि ५ वडा र राजापुर नगरपालिकाको ६, ८, ९ र १० नम्बर वडामा परियोजना संचालन भई रहेको थारु महिला उत्थान केन्द्रको परियोजना अधिकृत नरेश चौधरीले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रारम्भिक बालविकासको अवधारणा बारे जानकारी गराउँदै गर्भावस्था देखी ८ वर्षसम्मका बालबालिकाको सर्वाङ्घीण, शारिरिक, बौद्धिक, समाजिक, संवेगात्मक तथा भाषिक विकास लगायतका विषयमा जानकारी गराइएको परियोजना अधिकृत चौधरीले बताउनुभयो ।
घर बलियो बनाउन घरको जग बलियो बनाउन अवश्यक भए जस्तै देश बलियो बनाउन दक्ष जनशक्ति उत्पादन हुन आवश्यक रहेको र बच्चालाई भविष्यमा राम्रो ठुलो मान्छे बनाउन चाहने अभिभावकले गर्भावस्था देखी नै बच्चामा लगानी गर्नुपर्ने कुरामा जोड दिइएको छ । अन्तरक्रिया कार्यक्रममा बुवाको जिम्मेवारी, बुवाको प्रत्यक्ष सहभागितामा बच्चा हुर्कनुका फाइदाहरु लगायतका विषयमा चर्चा गरिएको छ ।
बर्दियामा परियोजनाले बालबालिका तथा अभिभावकमा सकारात्मक परिवर्तन ल्याउनुका साथै बच्चा आमाको गर्भमा रहँदा आमाको मात्र जिम्मेवारी हो भन्ने मानसिकता विस्तारै परिवर्तन गर्दै लगेको बताइएको छ । परियोजनाले गर्भवती महिलाको स्याहार गर्ने देखि लिएर बच्चा जन्मँदासम्म सबैको उत्तिकै जिम्मेवारी रहने ज्ञान दिएको कार्यक्रमका सहभागीले बताएका छन् ।