बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिकामा हरेक वर्ष संचालन हुने नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा भुरीगाउँमा रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयले लगातार तीन वटा संस्करणमा जित हाँसिल गरेको छ । नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ्गशिल्डमा यस बर्ष पनि त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाउँले जित हाँसिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक नन्दराम अधिकारीले जानकारी दिनुभयो ।
रनिङ्गशिल्ड प्रतियोगितामा ८ स्वर्ण, १२ रजत र ४ कास्य पदक सहित उपाधि त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरीगाउँले जितेको हो । प्रथम हुनेले विद्यालयले शिल्डसहित नगद २५ हजार रुपैयाँ पुरस्कार पाएको छ । यस्तै प्रतिस्पर्धामा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ प्रतापुरमा रहेको बर्दिया एजुकेशनल एकेडेमी नेपालले ७ स्वर्ण, १ रजत र २ कास्य पदक सहित द्वितीय भएको छ भने ५ स्वर्ण, ४ रजत र ७ कास्यसहित ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनाहामा रहेको चुरे माध्यमिक विद्यालय तृतिय भएकोे छ । रनिङ्गशिल्ड प्रतियोगिताको खेल अवधिभर उत्कृष्ठ खेल खेल्ने खेलाडिहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
नगरस्तरिय पाँचौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको औपचारिक समापन तथा चुरे माध्यमिक विद्यालयको ५० औँ स्वर्णत्सवको ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले परेवा उडाएर तथा केक काटेर उद्घाटन गर्नुभएको हो । नगर प्रमुख लम्सालले खेलकुदको विकासका लागि महत्वपूर्ण काम गर्दै आएको र खेलबाट विद्यार्थीहरुले विभिन्न कुराको ज्ञान लिन सक्ने र आफुले पनि यस क्षेत्रमा शिक्षा क्षेत्रको विकासका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । आफुले अध्ययन गरेको विद्यालयको ५० औँ स्वर्णत्सवको उद्घाटन गर्ने अवसर प्राप्त भएकोमा पनि नगर प्रमुख लम्सालले खुशी ब्यक्त गर्नुभयो । नगर प्रमुख लम्सालले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी खेलकुदको माध्यमबाट नगरपालिका भित्र रहेका विद्यालयलाई सहयोग गर्न र शैक्षिक गुणस्तरलाई माथी उकास्न सहयोग गर्ने बताउँदै खेलकुद कार्यक्रम शैक्षिक गतिविधिको अभिन्न अंग भएकाले विद्यार्थीहरुका प्रतिभा देखाउनका लागि पनि खेलकुद प्रतियोगिता संचालन गरिएकोे बताउनुभयो ।
गएको मंसिर २५ गतेदेखि सुरु भएको नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगीता पुस ३ गते आइतबार सकिएको ठाकुरबाबा नगरपालिका शिक्षा शाखा अधिकृत सीता भण्डारीले बताउनुभयो । हरेक वर्ष संचालन भइरहने रनिङ्गशिल्ड प्रतियोगिता यस वर्ष ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा रहेको चुरे माध्यमिक विद्यालयको खेल मैदानमा भएको हो । सुरुवाती चरणमा नगरपालिका भित्र रहेका ९ वटा सामुदायिक तथा ५ वटा संस्थागत गरि १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले मार्चपास सलामीमा सहभागिता जनाएका थिए ।
देशभरका अन्य पालिकाहरु तथा जिल्लाहरुमा संचालन भएका नगरस्तरीय तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीहरुको मार्च पास सलामीमा जनप्रतिनिधीहरुले पिर्का माथी उभिएर सलामी ग्रहण गरेका तस्विरहरु भाइरल भएपनि ठाकुरबाबा नगरस्तरीय रनिङ्गशिल्डमा भने अथितीहरुले मञ्चमा उभिएर नमस्कार मार्फत सलामी ग्रहण गरेका थिए ।