
भुरीगाउँ, बर्दिया : गुराँस किशोरी क्लबकी सचीव अरुणा थारु एक दिनका लागि ठाकुरबाबा नगरपालिकाको उप–प्रमुख बन्नु भएको छ । ११ औं अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाकी उप–प्रमुख बिना कुमारी भट्टराईको स्थानमा अरुणा थारुलाई उप–प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा आयोजना गरिएको अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा सोमबार अरुणा थारुलाई एक दिनका लागि नगर उप–प्रमुख बनाइएको हो । उप–प्रमुख भइसकेपछि आफ्नो जिम्मेवारीलाई केहि समयका लागि लिन पाँउदा राम्रो अनुभव गर्न पाएको थारुले बताउनु भयो । नेपालका बिभिन्न पालिकामा बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम निरन्तर भइरहेको छ ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले पद हस्तान्तरण कार्यक्रम बालिका तथा किशोरीहरुका लागि उत्कृष्ट अवसर भएको बताउनुभयो । साथै उहाँले बालिका तथा किशोरीहरुका आफ्ना सवालमा निर्णायककर्ता, नेता तथा परिवर्तनका संवाहकहरुको दृष्टिकोण परिवर्तन गर्न सफल हुनुपर्नेमा जोड दिनुभयो । यो समय किशोरीहरुले भविष्य निर्माण गर्ने समय भएकोले आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउँदै आर्थिक रुपमा कमजोर भएको परिवारमा विभेद पाइएकोले आर्थिक रुपमा कमजोर विद्यार्थीलाई उच्चशिक्षाको लागि नगरले सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराईले नगरपालिका बालविवाह सम्बन्धी रणनीति, कार्यविधी नीतिहरुको तयारीको अन्तिम चरण रहेको बताउनु भयो । महिलाको अधिकारलाई ऐन, कानुनले सुनिश्चित गरेकोले अब किशोरीहरुले आफ्नो क्षमता अभिबृद्वी गर्नुपर्नेमा जोड दिँदै ज्ञापन पत्रमा रहेका मागहरु पुरा गर्ने प्रतिबद्वता समेत जनाउनु भयो । बालिका दिवसको अवसरमा सम्पूर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्र्तराष्ट्रिय बालिका दिवस मनाउन थालिएको छ ।
पद हस्तान्तरण कार्यक्रममा एक दिनका लागि उप–प्रमुख बन्नुभएकी थारुलाई गुराँस किशोरी क्लबकी रविका वि.क.ले किशोरीले भोग्नु परको समस्या समेटिएको नौ बुँदे ज्ञापनपत्र बुझाएर बालिकाहरुको मुद्दाका गम्भीर भएर लाग्न माग गर्नुभएको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।
सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजनीतिक अधिकार, किशोरीको शिक्षामा पहुँच र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध गर्दै ज्ञापन पत्र समेत बुझाएको बाँके युनेस्को क्लबको बालसंरक्षण कार्यक्रमका फिल्ड सुपरभाइजर डमर परियारलेले जानकारी दिनुभयो । किशोरीहरुको नेतृत्व र व्यक्तित्व विकास गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने बताउँदै यस्ता कार्यक्रम मार्फत् किशोरीहरुको आत्मविस्वास बढ्दै जाने र भविष्यमा सामाजिक रुपमा स्थापित हुन सहयोग मिल्ने परियारलेले बताउनु भयो ।