लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय राप्ती उपत्यकामा स्थानान्तरण
नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ स्थायी राजधानी मै गराउने तयारी

दाङ : स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दबाब बढेपनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान सोमबार मध्यरातमा दाङको देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ ल्याइएको बताउनुभयो । अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने तयारी रहेकोले सामान र कार्यालय व्यवस्थापन भएपछि संचालन हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी पुगेका छन् । सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान झारिएको छ ।
नवनिर्वाचित लुम्बिनी प्रदेश सभाको शपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणको अन्तिम चरणमा रहेको संसद् भवनमा बोलाउने तयारी गरिएको छ । प्रदेश सभाको दुई तिहाइले गरेको निर्णयलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सफल भएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभयो । स्रोतका अनुसार मुख्यमन्त्री केसील अर्थ तथा सहकारी मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालय पनि एक साताभित्रै देउखुरीमै सार्ने गरी व्यवस्थापन गर्न पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।
यसअघि नेपाली कांग्रेस रुपन्देहीले र नेकपा एमाले रुपन्देहीले स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । कर्मचारीहरुले समेत पूर्वाधार बिना राजधानी सार्दा समस्या हुने भन्दै नसार्न मागसहित ज्ञापनपत्र बुझाएका थिए ।