भुरीगाउँ, बर्दिया : बालविवाह न्यूनिकरण अन्तरगत नागरिक समाजका लागि समूह निर्माण अभ्यास तथा पैरवी सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको भुरीगाँउमा प्लान इन्टरनेशनल नेपाल र बी–ग्रुप बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।
क्षमता विकास तालिममा विभिन्न किसिमका प्रयोगात्मक अभ्यास तथा खेलका माध्यमबाट नागरिक समाजको गठन कसरी गर्ने भन्ने विषयमा प्रयोग सहित बृहतरुपमा छलफल तथा लिखित मौखिकरुपमा जानकारी गराइएको छ । नागरिक पहिचान तथा भुमिकाका सन्दर्भमा सहभागीहरुलाई विभिन्न किसिमका प्रश्नहरु दिएर लिखित जाँच समेत गरिएको छ । जस अन्तरगत जन्म हुँदा खेरी समाजले मलाई थोपारेका पहिचान, अहिलेको अवस्थामा मेरो पहिचानको सबै भन्दा महत्वपूर्ण पक्ष, भविष्यमा मेरो पहिचानलाई परिवर्तन गर्न सक्ने कुराहरु, काम नगर्दा वा सुतेको बेलामा म को हो ?, आगामी ५ वर्षमा मेरो लक्ष्य के गर्ने, मेरो लागि सफलता भन्ने कस्तो कुराहरु हो, म आफैले कोरेको मेरो अनुहारको चित्र मैले लिएको लक्ष्य, प्राप्त सन्दर्भमा आफ्नो प्रतिकको रुपमा म कस्तो छु लगायतका थुप्रै प्रश्न सहित सहभागिहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको बी–ग्रुप बाँकेकी फिल्ड सुपरभाइजर मायाँ खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा मूल्य तथा मान्यता, पे्ररणा तथा शिक्षाका बारेमा समेत बृहत छलफल गरिएको छ । समूह गठन गर्दा विभिन्न किसिमका चुनौतीहरुलार्य कसरी समाधान गर्ने र न्यायिक क्षमता कसरी अभिबृदी गर्ने विषयमा पनि कार्यक्रममा जानकारी गराइएको खड्काले जानकारी दिनुभयो । समूह गठन गर्दा एक पक्षले अर्को पक्षलाई समेत समेटेको हुने र यदि एक पक्षमात्र कमजोर भएमा समुह नै निर्माण हुन नसक्ने कुरालाई समेत खेलका माध्यमबाट प्रस्तुत गरीएको थियो । बालविवाह न्यूनिकरण, सभ्य समाजको निर्माण तथा अनेकतामा एकता सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रम सन्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाको सबै वडाका बड्घर, गुरुवा, स्वास्थ्य स्वयम्सेविका , युवाहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्दिजीबी लगायतको सहभागिता रहेको बालविवाह न्यूनिकरण अन्तरगत नागरिक समाजका लागि समूह निर्माण अभ्यास तथा पैरवी सम्बन्धी क्षमता विकास तालिममा प्रकाश उपाध्यायले प्रशिक्षण दिनुभएको थियो ।