
भुरीगाउँ, बर्दिया : “समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन” भन्ने नाराका साथ आज ३१ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाइएको छ । दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकामा पनि कार्यक्रमको आयोजना गरिएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को आयोजनामा रानिपुरमा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाउने गरिन्छ । यस वर्ष “समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन” भन्ने नाराका साथ यो दिवस मनाइएको छ । यस पटकको विश्व अपांगता दिवसमा अपांगता भएका व्यक्तिको मर्यादा, अधिकार र कल्याणका लागि अपांगता सम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर २ मा आयोजित कार्यक्रममा वडाअध्यक्ष कमल प्रसाद चपाईंले अपांगता भएका व्यक्तिहरुको हक-अधिकार, समस्या र आवश्यकतालाई पूरा गर्नका लागि आफ्नो क्षमताले भ्याएसम्म विशेष पहल गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै वडास्तरिय अपांगता समन्वय समितीका संयोजक नयाँराम खड्काले अपांगता भएका व्यक्तिहरु सबै जना एकजुट भएर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रमा सहभागीहरुले पहेँंलो र हरियो परिचयपत्र भएका व्यक्तिहरुले पनि रातो परिचयपत्र पाउनु पर्ने, ह्वीलचियर, सेतो छडी, सिपमुलका तालिम लगायतका कार्यक्रमको आयोजना गरि सहभागी गराउनु पर्ने माग गरेका छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा अपांगता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपांगता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वास सहित शुभकामना व्यक्त गर्नुभएको छ ।
अपांगता भएका व्यक्तिको अधिकार प्रवर्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्रसंघको अग्रसरतामा ३ दशक अघि सुरू गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपांगता भएका नागरिकलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्ने सन्देशमा उल्लेख गरिएको छ ।