onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

गुरुकुल निर्माणको उद्देश्य सहित भुरीगाउँमा महायज्ञ संचालन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : सुविधा सम्पन्न धर्मशाला निर्माणका लागि ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा मंसिर १५ गते देखी श्रीमद् भागवत सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ । विभिन्न देशहरुबाट तिर्थाटनका लागि आउने तिर्थालु तथा पर्यटकहरुको सहजताका लागि धर्मशाला निर्माण गर्ने उद्देश्य सहित श्रीकृष्ण प्रणामी बाइजुराज जिल्ला तथा इकाई समिति भुरीगाउँको आयोजनामा श्रीमद् भागवत सप्ताह तथा धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञको उट्घाटन गर्दै बर्दिया क्षेत्र नम्बर २(क) का नवनिर्वाचित प्रदेशसभाका सदस्य जन्मजय तिमिल्सेनाले तिर्थालु तथा पर्यटकहरुको आवास सहजताको पुण्य उद्देश्य सहित महायज्ञ संचालन गर्नु आफैमा पुण्यको काम भएको बताउनु भयो ।

भारतका विभिन्न स्थानमा रहेका धार्मिक स्थलहरुमा जाने र नेपालका धार्मिक स्थलहरुमा समेत आउने धार्मिक एवम् अन्य पर्यटकहरु यही बाटो हुँदै भ्रमण आउने जाने क्रममा विश्रामस्थलको रुपमा प्रयोग गर्र्ने मिल्ने गरी सुविधा सम्पन्न धर्मशाला, गुरुकुल निर्माण गर्ने उद्देश्यले ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा महायज्ञको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

भद्रावतीपुरी धाम भरोडा गुजरातका पिठाधिस एवम् राधाकृष्ण सेवा संस्था काठमाण्डौका संस्थापक संरक्षक श्री १०८ टहल किशोर महाराजद्वारा कथा प्रवचन हुने महायज्ञमा हरेक दिन दिउँसो १२ः३० बजेदेखी १ः१५ सम्म वाणीचर्चा तथा दिउँसो १ः१५ बजेदेखी ३ः३० बजेसम्म भागवत कथा प्रवचन हुने आयोजक संस्थाले जनाएको छ । हरेक दिन साँझ ६ः३० बजे देखि ७ः३० बजेसम्म सन्ध्या सेवा पूजा तथा राती ८ बजे देखी १० बजेसम्म भागवत महात्म्य तथा भजनकिर्तन हुने आयोजक संस्थाका सचिव सरस्वती गौलीले बताउनु भयो । उहाँले महायज्ञमा पायक पर्ने सबै ठाउँका श्रद्धालु भक्तजनलाइ आनन्दित कथा सुन्न आउन आग्रह गर्नुभयो ।

यज्ञ उट्घाटन अघि शोभा कलश यात्रा निकालिएको थियो । यज्ञस्थलबाट सुरु भएको कलश यात्रा भुरिगाउँ बजारको परिक्रममा गर्दै यज्ञमा पुगेको थियो । यात्रामा महिला समूह, क्लव, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागीता रहेको थियो । यज्ञमा धार्मिक अध्येता १०८ टहल किशोर महाराज मुख्य बाचक र श्रीकृष्ण प्रणामी मन्दिर भुरीगाउँका संस्थापक एवम् पश्चिम क्षेत्रकै श्रीकृष्ण प्रणामी धर्म प्रचारक पण्डित श्रीकृष्ण शरण उपवाचक रहनु भएको आयोजक संस्था श्रीकृष्ण प्रणामी बाइजुराज जिल्ला तथा इकाई समिति भुरीगाउँले जनाएको छ । महायज्ञ मंसिर २१ गतेसम्म संचालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.