बर्दिया : जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रलाई अन्न भण्डारको रुपमा चिनिन्छ । वर्षमा कमै मात्र समय यस क्षेत्रका खेत तथा बारीहरु बाँझो देखिन्छ । कार्तिक–मंसिरको महिना गहुँ र तोरी छर्ने समय हो, मंसिरको मध्य हुँदै गर्दा गहुँ र तोरी छर्ने उचित समय घर्किनै लाग्दा पनि कतिपय कृषकहरुले खेतबारी जोतेर मात्रै छाडेका छन् ।
केहि वर्ष पहिले सम्म गहुँ र तोरीले खेतबाली हरिया देखिने यो समयमा अहिलेको दृश्य भने केहि फरक देखिन्छ । जिल्लामा रासायनिक मलको अभाव हुँदा कृषकहरुले गहुँ, तोरी लगायतका बाली छार्न नपाएका हुन् । केहि कृषकहरुले भारतको सिमावर्ती बजार क्षेत्रबाट मल ल्याएर प्रयोग गरेका छन् भने केहिले स्थानीय एग्रोभेटमा उपलब्ध मलको प्रयोग गरेर खेती गरेका छन् । सीमावर्ती बजार र एग्रोभेटमा उपलब्ध हुने मलको गुणस्तर उचित नहुँदा खेती गरेका कृषकहरु पनि उब्जनी राम्रो नहुनेमा चिन्तित देखिन्छन् ।
राजापुर नगरपालिका ३ का कृषक कृष्ण चौधरीले सरकारबाट अनुदानित रासायनिक मल लिन पालिकाको सहकारीमा धेरै पटक गएको भए पनि नपाउँदा अन्य पालिकाको सहकारीहरुमा पाइन्छ कि भनेर धाउनु परेको तर मल भने नपाउँदा गुणस्तरहिन मलको प्रयोग गर्नुपरेको दुःखेसो पोख्नुभयो ।
सरकारले अनुदानमा उपलब्ध गराउने मल कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन मार्फत् सहकारी संस्थाबाट कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ, तर पर्याप्त मात्रामा मल नआउँदा थोरैथोरै मात्रामा भाग लगाएर जिल्लाका सबै सहकारीलाईहरुलाई मल वितरण गर्ने गरिएको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय गुलरियाले जनाएको छ ।
सरकारले कृषिमा आधुनिकीकरण र क्रान्ति गर्ने भनेर घोषणाहरु गर्ने गरेको भए पनि कृषकहरुले भने समयमा मल पाउनै नसक्ने समस्याबाट पिडित छन् ।