onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

लैङ्गिक हिंसा न्यूनिकरण विषयमा अन्तरक्रिया सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नारामा साथ कार्यस्थलमा हुने यौनजन्य तथा लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम ठाकुरबाबामा सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण उपशाखा सैनवारको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा महिला हिंसाको विषयमा बृहत छलफल गरिएको छ । महिला माथी कार्यस्थलमा हुने यौनजन्य लैङ्गिक हिंसालाई न्यूनिकरण गर्नका लागि सबैले आफैबाट सुरुवात गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । नोभेम्बर २५ तारिख देखी विश्वभर महिला हिंसा बिरुद्दको १६ दिने अभियान संचालन भई रहेको छ, हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ ।

विभिन्न अध्ययनहरुका अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै ठाकुरबाबा नगरपालिकाकी नगर उप–प्रमुख बिना कुमारी भट्टराईले हिंसा विरुद्ध हुने विभिन्न किसीमका घटनाहरु विरुद्द पहिले आफुबाट नै आवाज उठाउनु पर्ने बताउनुभयो । आफुले पनि हिंसा नगर्ने र अरुले गरेका हिंसा पनि नसहेमा यसको न्यूनिकरण हुन सक्ने भन्दै सम्पूर्णमा हिंसा विरुद्दको अभियानमा एैक्यवद्ध भएर अगाडी बढ्न पनि अग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालमा महिला आन्दोलनको पृष्ठभुमी, विश्व महिला सम्मेलन, नेपालमा महिला आन्दोलन, महिला सम्बन्धी महासन्धी, महिला सम्बन्धी राष्ट्रिय प्रतिबद्दता, समाजमा प्रचलनमा रहेका महिला विरुद्दको हानीकारक अभ्यासहरु तथा महिला अधिकारका लागि सम्बन्धित निकायको पहिचान लगायतका विषयमा छलफल गरिएको ठाकुरबाबा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख गोगनसरा आचार्यले बताउनुभयो । मंसीर १५ गते देखी ठाकुरबाबा नगरपालिका भित्रका सम्पूर्ण विद्यालयका ९ र १० कक्षाका विद्यार्थीहरुलाई लैङ्गिक हिंसा विरुद्दको सचेतना कक्षा संचालन भइरहेको समेत महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

तिन दिदि–बहिनीहरु पेट्रीया, मिनर्भा र मारिया डोमिनिकन तानाशाहका बिरुद्द चलेको आन्दोलन र उक्त आन्दोलनमा डोमिनिकन निरंकुश तानाशाही त्रुजिलो शासकबाट गरिएको हत्या नै यो दिवस शुरूवातका लागि कोशेढुङ्गा बनेको हो । सन् १९६० नोभेम्बर २५ तारिखका दिन डोमिनिकन तानाशाह त्रुजिलो बिरुद्द आन्दोलनमा जेल परेका आफ्ना श्रीमानहरुलाई भेटेर फर्कदा उनीहरुकाके निर्मम तरिकाले गाडी चालक सहित हत्या गरिएको थियो । सोही घटनामा हत्या गरिएको ३ बहिनीको सम्मानमा सयुक्त राष्ट्र संघले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्दको दिवस मनाउने गरि सन् १९९९ को महासभाले निर्णय गरेको हो । नेपालमा भने विक्रम सम्वत् २०५४ साल देखि यो दिवस मनाउन थालिएको हो ।

ठाकुरबाबा नगरपालिकाको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा महिला मात्र नभइ पुरुषहरु पनि हिंसा भोग्न बाध्य रहेको विषयमा पनि छलफल भएको जनाइएको छ । जिल्ला बार एसोशियसनकी सचिव लक्ष्मी नेपालले प्रशिक्षण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालय तथा क्याम्पसका शिक्षिकाहरु, मेलमिलाप केन्द्र, उद्योग बाणिज्य संघ, थारु महिला उत्थान केन्द्र, दलित महिला उत्थान केन्द्र लगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.