ठाकुरबाबा उप–प्रमुखलाई युवाहरुको ज्ञापनपत्र
युवाहरुको नेतृत्व विकासका लागि कार्य गर्न आग्रह
भुरीगाउँ, बर्दिया : शिक्षा, स्वास्थ्य, खेलकुद तथा युवाहरुको नेतृत्व विकासका विषयमा नगरले विशेष ध्यान पुर्याउनु पर्ने माग राख्दै युवाहरुको समूहले ठाकुरबाबा नगरपालिका उप–प्रमुख बिना कुमारी भट्टराईलाई ज्ञापनपत्र बुझाएका छ ।
२१ जना युवाहरुको समूहले उप–प्रमुख भट्टराईलाई ९ बुँदे समस्याहरु तथा सो को समाधान सहितको ज्ञापनपत्र बुझाएका हुन् । युवाहरुको समूहले नगरको शिक्षा, स्वास्थ्य, खेलकुद, कला–साहित्य लगायतका क्षेत्रमा भएका समस्याहरु समावेश गरेर ज्ञापनपत्र बुझाएको ठाकुरबाबा नगरपालिकाकी नगर उप–प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा नगरले सामना गर्नु परेका विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खानेपानी, फोहर व्यवस्थापन, सडक अवस्था लगायतका समस्याको समाधान गर्न माग गरिएको छ । बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्न तथा यूवाहरुको लागि खेलकुद सामग्रीको व्यवस्थापनका गर्न पनि माग गरिएको छ ।
युवाहरुको समूहले लागुपदार्थ दुव्र्यसनी रोकथामका लागि नगरले चासो नदेखाएको भन्दै त्यसतर्फ पनि नगरपालिकाको कार्यालयले कार्यक्रमहरु संचालन गर्न माग गरेका छन् । ज्ञापनपत्रमा नगरका सबै बालबालिकाहरुले राम्रो शिक्षा दिन नपाएको, विद्यालयहरुमा उजुरी पेटिकाको कमी रहेको, फोहोरको उचित व्यवस्थापन हुन नसकेको, बिरामीहरुले समयमा उचित उपचारको अभाबमा ज्यानै गुमाउनु पर्ने अवस्था सिर्जना हुन सक्ने तर्फ ध्यानाकर्षण गराएका छन् ।
यस्तै युवाहरुमा नेतृत्व विकासका लागि कार्यक्रमहरु संचालन गर्न माग गर्दै कला–साहित्य तथा खेलकुदका क्षेत्रमा पनि नगरपालिकाले विशेष पहल कदमी चाल्नुपर्ने युवाहरुको समूहले माग गरेका छन् । ज्ञापनपत्रमा नगर भित्र रहेका समस्याहरु संगै ती समस्याहरुको समाधानको उपायहरु पनि समावेश गरिएको ज्ञापनपत्र बुझाउने युवाहरुको समूहका एक सुवास ठाकुर थारुले बताउनुभयो ।
समाधानका उपायहरुमा पालिका र वडाहरुमा युवा संजाल निर्माण गरी युवा लक्षित कार्यक्रमहरु संचालन गरिनुपर्ने, युवाहरुको नेतृत्व विकासका लागि तालिम संचालन गरिनु पर्ने, विपद् तथा जोखिमको अवस्थामा युवाहरुलाई परिचालन गर्नुपर्ने, विद्यालय तथा समुदाय स्तरमा खेलकुद सामाग्री उपलब्ध गराउनु पर्ने र लागुपदार्थ दुब्र्यसनी सम्बन्धी जनचेतना फैलाउनु पर्ने बताइएको छ ।
यस्तै नगरको गुरुयोजनामा समावेश भएको युवा लक्षित कार्यक्रमहरुको कार्यान्वयन गरी वैदेशिक रोजगारीमा जाने र ज्याला मजदुरीको लागि देश बाहिर जाने युवाहरुको लागि स्थानीयस्तरमा नै रोजगारीको सिर्जना गर्नु पर्ने तथा स्थानीय कलासंस्कृतीको संरक्षण र प्रवद्र्दन गर्नुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै ठाकुरबाबा नगर उप–प्रमुख बिना कु भट्टराईले नगरका समस्या समाधानको लागि सक्दो प्रयास गरिरहेको बताउनु भयो । फोहोर व्यवस्थापनको क्षेत्रमा चुनौती रहेको र ती चुनौतीहरुलाई पन्छाउँदै नगरले वडा नम्बर ४ मा रहेका ४ विगाह क्षेत्रफलमा कुहिने फोहोरको संकलन गरी गौशालाबाट प्राप्त हुने गोबरमा मिसाएर प्राङ्गारिक मल बनाउनका लागि कार्य भई रहेको बताउनुभयो । नगरले युवाहरुलाई स्वरोजगार बनाउनका लागि विभिन्न समयमा तालिमहरुको आयोजना गर्ने गरेकोले सो तालिमहरुमा सक्रिय भएर सहभागी बन्न आग्रह गर्दै कतिपय तालिमहरुमा माग बमोजिमको सहभागी नै नहुने गरेको बतानुभयो ।
उप–प्रमुख भट्टराईले समृद्द नगर निर्माणको लागि सबै नगरबासीहरुलाई सहकार्य गर्नु पनि गर्नुभएको छ । लागुपदार्थ दुव्र्यसनी, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायतका विषयमा जनचेतना मुलक कार्यक्रमहरु संचालन भईरहेको र यसलाई अझ प्रभावकारी बनाउन स्थानीयहरु संग सहकार्य गरिने उप–प्रमुख भट्टराईले बताउनुभयो ।