onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा थारु समुदायका मतदाताको मत निर्णायक !

Sambad ADD long

बर्दिया : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र प्रचारप्रसार गर्ने दिन पनि अन्तिम हुँदै जाँदा बर्दियामा दुबै क्षेत्रका उम्मेदवारहरू प्रचारप्रसारमा निकै व्यस्त भएका छन् । बजार, गाउँ, टोलबस्तीमा उम्मेदवारसहित कार्यकर्ताहरु मत माग्दै दौडिरहेका छन् । मौन अवधी सुरु हुने दिन आईसक्न थालेपछी निर्णायक मत मानिएका थारु समुदायको मत आफ्नो पक्षमा पार्न उम्मेदवार र राजनितिक दलहरुले निकै दौडधूप गरिरहेका हुन् ।

उम्मेदवार र राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको ध्यान यतिखेर पुरै थारु समुदायको बस्तीमा छ । उम्मेदवारहरूले आफ्नो प्रचारप्रसार थारु समुदाय, सुकुम्बासी तथा मुक्तकमैया बस्तीमा केन्द्रित गरेका छन् । चुनाव जित्न थारु समुदाय र सुकुम्बासी तथा मुक्तकमैयाकै मत निर्णायक हुने ठहर गरेका दलले थारु समुदाय र सुकुम्बासीलाई जसरी पनि रिझाउने रणनीतिमा लागेका छन् ।

बर्दियामा झण्डै ५३ प्रतिशत जनसंख्या थारु समुदायको बाहुल्यता छ । राजापुर, गेरुवा, मधुवन, ठाकुरबाबा, बारबर्दिया पालिका क्षेत्र थारु बहुल क्षेत्र मानिन्छ । थारु बहुल क्षेत्रमा थारु समुदायको मन रिझाउन सकिएन भने सोँचे जस्तो परिणाम नआउँने भन्दै सबैको ध्यान थारु समुदायमै केन्द्रित भएको हो । थारु समुदाय रहेको बस्तीमा बडघर (अगुवा) लाई समाते बस्तीको पुरै भोट पाइन्छ भन्ने उम्मेदवार तथा नेताहरुको बुझाइ रहेकाले बडघरलाई फकाउने रणनीति नेताहरूको रहेको छ ।

मुक्तकमैया र सुकुम्बासीलाई खुसी पार्न गठबन्धनसहित अन्य दलहरुले उनीहरुको सुरक्षित आवासको विषयलाई चुनावी एजेन्डा बनाउँदै आएका छन् । सबैजसो उम्मेदवारहरु सुकुम्बासी, घरवारविहीन, मुक्तकमैया र पिछडिएका जातजातिलाई सुविधा सम्पन्न आवास, रोजगारी, शिक्षा, स्वास्थ्य प्रदान गर्ने बताएपनि अधिकाँस एजेन्डा पुरानै सुनाउने गरेको मतदाताहरु बताउँछन् ।

दलहरुले हरेकपटक एउटै आश्वासन दिने गरेको तर पूरा नगरेको भन्दै थारु समुदायबाट गुनासो आइरहेका बेला उनीहरुलाई फकाउन यतिबेला दलहरुलाई पनि सकस भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.