बर्दिया : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनले चुनावी माहोल देशैभरी तातीरहेको छ । बर्दियामा पनि निर्वाचनमा होमिएका सबै उम्मेदवार र दलका नेता तथा कार्यकर्तालाई भ्याइनभ्याइ छ मतदाताहरुसंग मत माग्न । चुनावी माहोल तातिरहेका बेला आजभोली दिनहुँजसो बर्दियाका चोकचौतारा र चिया पसलहरुमा पनि चुनावकै चर्चा छ । चुनाव कस्ले जित्छ, कस्ले हार्छ भनेर मतदाताहरुले अड्कलबाजी पनि गरिरहेका छन् ।
बर्दियाका २ वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको सत्ता गठबन्धन र नेकपा एमाले यसैगरी राप्रपा, नागरिक उन्मुक्ति र स्वतन्त्र लगायतका पार्टीबीच नै प्रतिस्पर्धा हुने देखिएपछी चुनावी माहोल थप रोचक बनेको छ । यस्तै नेपाली काँग्रेस र नेकपा माओबादीबीच गठबन्धन भएको र अन्य पार्टी एक्लाएक्लै चुनावी मैदानामा उत्रिएपनि केही पार्टीका कार्यकर्ताले भित्रभित्र आन्तिरिक गठबन्धन गर्न सक्ने हल्ला भएका कारण पनि बर्दियाको चुनावी माहोल रोचक बनेको हो ।
त्यस्तै यसपटकको निर्वाचनमा थारु समुदायको उत्थानका लागि भन्दै टिकापुर घटना अभियोगमा दोषी ठहर जेलमा परेका रेशम चौधरीकी पत्नीको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियाले गर्दा बर्दियामा पनि चुनावी माहोल थप चासोको विषय बनेको छ । प्रतिनिधी सभा सदस्यमा रेशम चौधरीको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीको मत कता जाने हो भन्ने चासोको विषय बन्न पुगेको छ । यस्तै अघिल्ला वर्षहरुमा राप्रपाबाट प्रतिभा राणा उठ्दै आएको क्षेत्र नम्बर २ मा राप्रपाबाट विनय रावलको उम्मदेवारीले पनि थप रौकता ल्याएको छ ।
बर्दियाको २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका संजय कुमार गौतम बाहेक अन्य सबै दलबाट नयाँ उम्मेदवार हुन् । प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुमा पनि यसअघि निर्वाचित भएका क्षेत्र नम्बर १ को १ मा नेपाली काँग्रेसका भुवनेश्वर थारु र क्षेत्र नम्बर २ को २ मा नेकपा एमालेका कृष्णी थारु दोहोरिएर चुनावी मैदानमा उत्रिनु भएको छ ।
यस्तै २०७० सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित क्षेत्र नम्बर २ को २ मा बाम लोकतान्त्रिक गठबन्धनबाट मान बहादुर थारु र बारबर्दिया नगरपालिकाकी निवर्तमान उपमेयर अन्जु दहित क्षेत्र नम्बर १ को २ बाट चुनावी मैदानमा उत्रिनु भएको छ भने बाँसगढी नगरपालिकाका निवर्तमान मेयर शालिकराम अधिकारी पनि क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभा सदस्यको उम्मेदारीमा हुनुहुन्छ । बाँकी सबै नयाँ अनुहारका उम्मेदारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
बर्दियामा ६ नगरपालिका, २ गाउँपालिका गरि ८ वटा पालिका र २ वटा मात्र निर्वाचन क्षेत्र भएको यस जिल्लामा भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा ५ वटा पालिकामा नेपाली काँग्रेस र २ वटा पालिकामा नेकपा माओवादी केन्द्रले जीतेको मतलाई आधार मानेर हेर्ने हो भने अहिलेको सत्ता गठबन्धन बलियो मानिन्छ, तर चुनावी माहोल यसै होला भन्न सकिने अवस्था छैन ।
क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट माओबादीका पन्थ र राप्रपाका रावलबीच प्रतिस्पर्धा, एमाले र स्वतन्त्रको पनि चुनौती
गठबन्धनका उम्मेदवारलाई एमालेसंगै, राप्रपा र नागरिक उन्मुक्ति पार्टीकै डर
प्रतिनिधीसभाका लागि बर्दियाको क्षेत्र नम्बर २ बाट भने बाम लोकतान्त्रिक गठबन्धन र राप्रपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय मतदाताहरुको भनाई अनुसार निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा मओबादी केन्द्रबाट सुरेश पन्थ र राप्रपाका विनय रावलबीच प्रतिस्पर्धा हुने देखिएको हो । तर गठबन्धनका उम्मेदवारलाई एमालेसंगै, राप्रपा र नागरिक उन्मुक्ति पार्टीकै डर छ ।
सत्ता गठबन्धनबाट नेकपा माओबादी केन्द्र पार्टीका उम्मेदवार सुरेश पन्थ र राप्रपा पार्टीका विनय रावल दुबै जना भर्खरै मात्र राजनितिमा प्रवेश गर्नुभएका उम्मेदवार हुनुहुन्छ । आफ्नो गाउँठाउँमा समाजसेवीका रुपमा काम गर्दै आउनुभएका विनय रावलले र सुरेश पन्थले सामाजिक क्षेत्रमा पनि धेरै सहयोग गर्नुभएको छ र उहाँ दुबै जना मतदाताका जनप्रिय उम्मेदवार हुनुहुन्छ ।
मुक्तकमैया, सुकुम्बासी र अब्यवस्थित बसोबास रहेको त्यसैमा पनि थारु समुदायको बाहुल्यता भएको क्षेत्र नम्बर २ मा दुबै उम्मेदवार थारु बस्तिमा पुगेर चुनावी प्रचारप्रसारमा लागेका छन् । ‘आफ्नै लगानीले समाजेवाबाटै विकासका लागि निरन्तर लागि रहेको छु, थारु समुदायको उत्थानका लागि भन्ने नारा र आफु पढेलेखेको बर्दियाको विकासका लागि बेटर एण्ड ब्राइटर बर्दिया (बिबिबि) अभियानमा रहेकाले आफ्नो उम्मेदवारी रहेकाले जीत हासिल गर्ने राप्रपाका उम्मेदवार विनय रावलको भनाई छ ।
तर यसपटक बर्दियामा मुख्य दुइ दलले बाम लोकतान्त्रिक अर्थात सत्ता गठबन्धन बनाएर चुनावी मैदानमा होमीए पनि गठबन्धनबाट नेकपा माओबादी केन्द्रका उम्मेदवार र राप्रपाका उम्मेदवार विनय रावल दुबै जनाले सामाजिक क्षेत्रमा काम गरेर मतदाताको मन जितेका कारण पनि बर्दिया क्षेत्र नम्बर २ मा यसपटक नयाँ अनुहार भएका उम्मेदवार मध्ये कस्ले बाजी मार्ने हो यसै भन्न गाह्रो छ ।
सामाजिक सेवा गर्दै नेपाली काँग्रेस पार्टीबाट राजनितिमा प्रवेश गर्नुभएका राप्रपाबाट उम्मेदवारी दिनुभएका विनय रावल, नेपाली काँग्रेस परित्याग गरी आउनुभएको हो । क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीका बुबा लालवीर थारु स्वतन्त्र उम्मेदवार र नेकपा एमालेका पंकजसिंह राठौरसँग सत्ता गठबन्धनका उम्मेदवार सुरेश पन्थले प्रतिस्पर्धा गर्नु परेको छ । तर सत्ता गठबन्धनबाट माओबादीका पन्थ र राप्रपाका रावलबीच प्रतिस्पर्धा भएपनि एमाले र नागरिक उन्मुक्तिले स्वतन्त्र उम्मेदवारसंग गरेको आन्तरिक साँठगाँठले पनि चुनौती थपेको छ ।
सत्ता गठबन्धनले झैँ अरु पार्टीले गठबन्धन गरेको भन्ने आधिकारिक निर्णय भने सार्वजनिक भएको छैन तर पनि क्षेत्र नम्बर २ मा राप्रपासंग अन्य केही पार्टीले आन्तरिक रुपमा गठबन्धन गरेको हल्लाले पनि बर्दियाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको हो । बर्दियाको २ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रमुख राजनितिक दलका उम्मेदवारले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । यस्तै अन्य दल र स्वतन्त्रका उम्मेदवारले पनि आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।
बर्दियामा ६ नगरपालिका, २ गाउँपालिका गरि ८ वटा पालिका र २ वटा मात्र निर्वाचन क्षेत्र भएको यस जिल्लामा भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा ५ वटा पालिकामा नेपाली काँग्रेस र २ वटा पालिकामा नेकपा माओवादी केन्द्रले जीतेको मतलाई आधार मानेर हेर्ने हो भने बाम लोकतान्त्रि गठबन्धन बलियो मानिन्छ, तर अहिलेको गठबन्धनलाई पनि मतदाताले के गर्छन्, चुनावी माहोल हो यसै होला भन्न सकिने अवस्था भने छैन ।
प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनकाबाट नेकपा माओवादी केन्द्रबाट सुरेश पन्थ, राप्रपाबाट विनय रावल, नेकपा एमालेबाट पंकजसिंह राठौर, लोसपाबाट अनिरुद्ध आर्या, राष्ट्रिय स्वतन्त्रबाट ओमप्रकास वसौला, नेमकिपाबाट धर्मराज जैसी र स्वतन्त्रबाट रामप्रसाद आचार्य र लालवीर चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ ।
यस्तै प्रदेशसभा तर्फ बर्दिया क्षेत्र नम्बर २ को १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका जन्मजय तिमिल्सीना, नेकपा एमालेबाट लहनु थारु, नागरिक उन्मुक्तिबाट प्रदेशी चौधरी, राप्रपाबाट कन्हैयालाल थारु लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा प्रदेश सभामा बाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले पार्टीबीच कडा प्रतिस्पर्धा देखिन्छ ।
क्षेत्र नम्बर २ को २ मा सत्ता गठबन्धनबाट नेकपा माओबादी केन्द्रका मान बहादुर थारु, नेकपा एमालेबाट कृष्णी थारु, नागरिक उन्मुक्ति पार्टीबाट धर्म बहादुर चौधरी, राप्रपाबाट धर्मराज शाह लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा प्रदेश सभामा सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा देखिन्छ ।
बर्दियामा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ४ निर्वाचन क्षेत्र रहेका छन् । स्थानिय तह निर्वाचनपछी बर्दियामा मृत्यु भएकालाई हटाएकोसमेत गरि ३ हजार ८ सय ७४ नयाँ मतदाता बढेका छन् । बर्दियामा ३ लाख १५ हजार २ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । बर्दिया क्षेत्र नम्बर १ मा १९३ र क्षेत्र नम्बर २ मा १८३ गरि कुल ३७६ मतदान केन्द्र रहेका छन् ।