online-aama-surachhya-sandesh

बर्दिया १ बाट प्रतिनिधी सभामा कसले बाजी मार्ला ? चुनावी रौनक प्रतिस्पर्धात्मक

Sambad ADD long

बर्दिया : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनले चुनावी माहोल देशैभरी तातीरहेको छ । बर्दियामा पनि निर्वाचनमा होमिएका सबै उम्मेदवार र दलका नेता तथा कार्यकर्तालाई भ्याइनभ्याइ छ मतदाताहरुसंग मत माग्न । चुनावी माहोल तातिरहेका बेला आजभोली दिनहुँजसो बर्दियाका चोकचौतारा र चिया पसलहरुमा पनि चुनावकै चर्चा छ । चुनाव कस्ले जित्छ, कस्ले हार्छ भनेर मतदाताहरुले अड्कलबाजी पनि गरिरहेका छन् ।

बर्दियाका २ वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको सत्ता गठबन्धन र नेकपा एमाले यसैगरी राप्रपा, नागरिक उन्मुक्ति र स्वतन्त्र लगायतका पार्टीबीच नै प्रतिस्पर्धा हुने देखिएपछी चुनावी माहोल थप रोचक बनेको छ । यस्तै नेपाली काँग्रेस र नेकपा माओबादीबीच गठबन्धन भएको र अन्य पार्टी एक्लाएक्लै चुनावी मैदानामा उत्रिएपनि केही पार्टीका कार्यकर्ताले भित्रभित्र आन्तिरिक गठबन्धन गर्न सक्ने हल्ला भएका कारण पनि बर्दियाको चुनावी माहोल रोचक बनेको हो ।

त्यस्तै यसपटकको निर्वाचनमा थारु समुदायको उत्थानका लागि भन्दै टिकापुर घटना अभियोगमा दोषी ठहर जेलमा परेका रेशम चौधरीकी पत्नीको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियाले गर्दा बर्दियामा पनि चुनावी माहोल थप चासोको विषय बनेको छ । प्रतिनिधी सभा सदस्यमा रेशम चौधरीको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीको मत कता जाने हो भन्ने चासोको विषय बन्न पुगेको छ । यस्तै अघिल्ला वर्षहरुमा राप्रपाबाट प्रतिभा राणा उठ्दै आएको क्षेत्र नम्बर २ मा राप्रपाबाट विनय रावलको उम्मदेवारीले पनि थप रौकता ल्याएको छ ।

बर्दियाको २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका संजय कुमार गौतम बाहेक अन्य सबै दलबाट नयाँ उम्मेदवार हुन् । प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुमा पनि यसअघि निर्वाचित भएका क्षेत्र नम्बर १ को १ मा नेपाली काँग्रेसका भुवनेश्वर थारु र क्षेत्र नम्बर २ को २ मा नेकपा एमालेका कृष्णी थारु दोहोरिएर चुनावी मैदानमा उत्रिनु भएको छ ।

यस्तै २०७० सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित क्षेत्र नम्बर २ को २ मा बाम लोकतान्त्रिक गठबन्धनबाट मान बहादुर थारु र बारबर्दिया नगरपालिकाकी निवर्तमान उपमेयर अन्जु दहित क्षेत्र नम्बर १ को २ बाट चुनावी मैदानमा उत्रिनु भएको छ भने बाँसगढी नगरपालिकाका निवर्तमान मेयर शालिकराम अधिकारी पनि क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभा सदस्यको उम्मेदारीमा हुनुहुन्छ । बाँकी सबै नयाँ अनुहारका उम्मेदारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

बर्दियामा ६ नगरपालिका, २ गाउँपालिका गरि ८ वटा पालिका र २ वटा मात्र निर्वाचन क्षेत्र भएको यस जिल्लामा भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा ५ वटा पालिकामा नेपाली काँग्रेस र २ वटा पालिकामा नेकपा माओवादी केन्द्रले जीतेको मतलाई आधार मानेर हेर्ने हो भने अहिलेको सत्ता गठबन्धन बलियो मानिन्छ, तर चुनावी माहोल यसै होला भन्न सकिने अवस्था छैन ।

क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट काँग्रेसका गौतम र एमालेका ज्ञवालीबीच प्रतिस्पर्धा, नागरिक उन्मुक्ति पार्टीको चुनौती पनि उत्तिकै

बर्दियाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार नेकपा एमालेका पुर्व उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्रि, पुर्व गृहमन्त्रि बामदेव गौतमलाई त्यतिबेला नेपाली काँग्रेसका संजय कुमार गौतमले ७५३ मतान्तरले पराजय गरि विजयी हासिल गर्नुभएको थियो ।

अहिले पनि लोकतान्त्रिक गठबन्धन अर्थात सत्ता गठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका संजय कुमार गौतमको उम्मदेवारी छ । यसपटक भने काँग्रेसका गौतम र नेकपा एमालेका लक्ष्मण ज्ञवालीबीच प्रतिस्पर्धा हुने देखिन्छ । उसो त नागरिक उन्मुक्ति पार्टी, जनता समाजबादी पार्टी, राप्रपा, स्वतन्त्र लगायतका पार्टीका उम्मेदवारहरु पनि चुनावी प्रतिस्पर्धीका रुपमा उत्रिएका छन् ।

यसअघिको प्रतिनिधीसभा निर्वाचनमा निर्वाचित हुनुभएका संजय कुमार गौतमको उम्मेदवारीले बर्दिया क्षेत्र नम्बर १ मा चुनावी परिणामलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् । सत्ता गठवन्धनका उम्मेदवार पुर्व सिँचाई मन्त्री, नेपाली काँग्रेसका केन्द्रिय सदस्य संजय कुमार गौतमसंग नेकपा एमालेका लक्ष्मण ज्ञवाली पनि कमजोर प्रतिस्पर्धी नभएको स्थानीय मतदाताहरु बताउँछन् । गाउँगाउँमा उहाँ दुबै जना उम्मेदवारको आलोचना र प्रशंसा दुबै हुने गरेको पाईएको छ । त्यसकारण पनि यसपटक गौतम र ज्ञवाली दुबै जनालाई चुनाव जीत्न त्यत्ती सजिलो देखिएको छैन ।

कतिपयले गौतम विरुद्ध विगतका चुनावमा दिएको आश्वासन पुरा नगरेको आरोप लगाउने गरेका छन् । ‘राजनीतिक अस्थिरताले विकासमा केहि पछि परेपनि बर्दियामा बाढी र कटान नियन्त्रणका लागि धेरै काम भएको उहाँले दावी गर्नुभयो । स्थानीय निर्वाचनको आधारमा सत्ता गठबन्धनको मत र मुख्य प्रतिस्पर्धी नेकपा एमालेको मतलाई हेर्दा धेरै फरक भएकाले पनि यसपटक उहाँ ढुक्क हुनुहुन्छ चुनाव जीत्नेमा । उहाँ यतिबेला कार्यकर्तासंगै चुनावी अभियानमा गाउँगाउँमा चुनावी सभा र घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।

उहाँले बबई, भादा र ओराही नदी व्यवस्थापन, सडक कालोपत्रे, ओराही नदीमा पुल लगायतका विकासे योजना आफ्नो पहलमा भएको र आगामी दिनमा पनि बर्दियाको समग्र विकासमा आफु लागि पर्ने भन्दै मतदाताहरु समक्ष बताउनुभएको छ । ‘बर्दियामा यसपटक बाम लोकतान्त्रिक गठबन्धनमय भएको छ, बर्दियावासीहरु गठबन्धन नै चाहन्छन्, त्यसैले यसपटक हाम्रो गठबन्धनको जीत निश्चत छ’ संजय कुमार गौतमले भन्नुभयो । बर्दियामा २ वटै क्षेत्रमा सत्ता गठबन्धनको जीत सुनिश्चित भएको उहाँको दावी छ ।

स्थानीय तह निर्वाचनमा बर्दियाका धेरै पालिकामा काँग्रेस र माओबादीले जित हासिल गरेका आधारमा हामी जीत्छौँ सत्ता गठबन्धनका कार्याकर्ताहरु भन्छन् । प्रतिनिधीसभा सदस्यमा भागबण्डामा परेको क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेस र क्षेत्र नम्बर २ बाट नेकपा माओबादी केन्द्रको जित हुने दावी गर्छन् ।

त्यस्तै आँकलन छ, नेकपा एमाले कार्यकर्ताको पनि । अबको चुनावमा प्रतिस्पर्धा भनेकै गठबन्धन र एमालेबीच हो । तर सत्ता गठबन्धन पछाडी छ, एमालेका लक्ष्मण ज्ञवालीले भन्नुभयो । बर्दियाका विकास निर्माणका समस्या समाधान गर्दै बबई नदीको जब्दीघाटमा पुल र तटबन्धन गर्न, भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई ब्यवस्थापन, जनताको घरबासको व्यवस्था, यिनै समस्या समाधान गर्न आफ्नो उम्मेदवारी भएकाले आफुलाई मतदाताले जीताउने उहाँको दावी छ ।

सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको आफ्नै दाबीले गर्दा पनि बर्दियाको क्षेत्र नम्बर १ मा काँग्रेसका संजय कुमार गौतम र एमालेका लक्ष्मण ज्ञवालीबीच कडा प्रतिस्पर्धा हुने बताईएको छ । प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बीनी प्रदेश सहइन्चार्ज, जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवाली र प्रतिनिधिसभाका उम्मेदवार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य, निवर्तमान जिल्ला सभापति एवं पुर्व सिँचाइमन्त्री संजय कुमार गौतमबीच चुनावी प्रतिस्पर्धा छ । दुवै जना आफनो साख जोगाउने होडबाजीमा छन् ।

यसअघि २०७० साल र २०७४ सालको प्रतिनिधी सभा सदस्यमा चुनाव जीत्नु भएका नेपाली कांग्रेसका संजय कुमार गौतम र नेकपा एमालेका लक्ष्मण ज्ञवालीबीचको प्रतिस्पर्धाकै बारेमा चर्चा बढेको छ । यसपटक त सत्ता गठबन्धनले गर्दा झनै बलियो भएकाले पनि जित्ने पक्का हो भन्नेहरु भेटीन्छन् भने अर्को तर्फ एमालेका लक्ष्मण ज्ञवालीले जीत्ने सम्भावना बढी छ भन्नेहरु पनि भेटीएका छन् ।

तर एमालेका केहि कार्यकर्ताहरु भन्छन् अहिलेको चुनावमा क्षेत्र नम्बर १ मा एमालेको जीत निश्चित छ अनि राप्रपाका केहि नेताहरु भने बर्दिया क्षेत्र नम्बर २ मा आफ्नो जीत हुने दाबी गर्छन् । सबै दलका उम्मेदवारहरु गाउँगाउँमा चुनावी सभा गर्दै आफ्नो चुनावी अभियानमा लागेका छन् । यतिबेला सबै दलका अधिकाँश उम्मेदवारलाई विहानदेखि अबेर रातीसम्म घरदैलो अभियानमा लाग्दै भ्याईनभ्याई छ ।

प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका संजय कुमार गौतम, नेकपा एमालेबाट लक्ष्मणराज ज्ञवाली, नागरिक उन्मुक्तीबाट ठाकुरसिंह थारु, राष्ट्रिय स्वतन्त्रबाट प्रवेश भुसाल, राप्रपाबाट सूर्य बहादुर सिंह, जनमतबाट सोहराव पठान, जनता समाजवादीबाट रेशम बहादुर खत्री, नेश्नलिष्ट पिपल्सबाट रामरतन थारु, नेमकिपाबाट हरीलाल न्यौपाने र स्वतन्त्रबाट देवीप्रसाद तिवारी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै प्रदेशसभा तर्फ बर्दिया क्षेत्र नम्बर १ को १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसबाट भुवनेश्वर थारु, नेकपा एमालेबाट शालिकराम अधिकारी, नागरिक उन्मुक्तिबाट खेम बहादुर थारु, समाजबादीबाट दिल बहादुर केशी, राप्रपाबाट रामलाल बुढाथोकी लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा पनि प्रदेशसभामा सत्ता गठबन्धन र नेकपा एमाले पार्टीबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को २ मा सत्ता गठबन्धनबाट नेकपा माओबादी केन्द्रबाट अन्जु दहित, नेकपा एमालेबाट भक्तबहादुर बिक, नागरिक उन्मुक्तिबाट राजकुमार चौधरी, राप्रपाबाट दत्ते थारु, स्वतन्त्रबाट सुभाष पोखरेल लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा पनि प्रदेशसभामा सत्ता गठबन्धन र नेकपा एमाले पार्टीबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

बर्दियामा प्रतिनिधिसभा तर्फ २ र प्रदेश सभा तर्फ ४ निर्वाचन क्षेत्र रहेका छन् । स्थानिय तह निर्वाचनपछी बर्दियामा मृत्यु भएकालाई हटाएकोसमेत गरि ३ हजार ८ सय ७४ नयाँ मतदाता बढेका छन् । बर्दियामा ३ लाख १५ हजार २ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । बर्दिया क्षेत्र नम्बर १ मा १९३ र क्षेत्र नम्बर २ मा १८३ गरि कुल ३७६ मतदान केन्द्र रहेका छन् ।

Leave A Reply

Your email address will not be published.