online-aama-surachhya-sandesh

नेतालाई चुनावको, जनतालाई धान थन्काउने चटारो

नेताको आश्वासन मतदातालाई, मतदाताको आश्वासन नेतालाई

Sambad ADD long

बर्दिया : यहि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले देशभरमा छुट्टै रौनक छ । शहर बजार होस् वा गाउँघरको चोक चौतारा हरेक स्थानहरुमा राजनीति नै पहिलो प्रथमिकताका साथ बहसको विषयवस्तु बन्ने गरेको छ । मतदानको दिन आउन ६ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न आफ्नो निर्वाचन क्षेत्रको हरेक घरहरु नछुटाई धाइरहेका छन् । उम्मेदवारहरूकै शब्दमा भन्ने हो भने धपेडीमा छन् ।

मतदानको दिन नजिकिँदै गर्दा चुनाव प्रचारप्रसार गर्न पाउने दिन पनि थोरै मात्र छ, उम्मेदवारहरूको ढुकढुकी उत्तिकै बढ्दो छ । प्रतिनिधीसभा तर्फ २ र प्रदेशसभा तर्फ ४ निर्वाचन क्षेत्र रहेको बर्दियाका सबै उम्मेदवारहरुको आँखामा एउटै तृष्णा छ, परिणाम आफ्नो पक्षमा पार्ने । निर्वाचन नजिकिँदा उम्मेदवारहरू घरदैलो गर्दै टोल–टोल धाइहरेका छन् ।

उम्मेदवार र कार्यकर्ताहरुलाई चुनावको चटारो छ भने आम कृषकहरुलाई वर्षभरीको खाने अन्नबाली धान थन्काउने चटारो छ । बाम–लोेकतान्त्रिक गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र सहितका पाँच दल होस् वा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारहरु नै किन नहुन्, सबै आ–आफनो दलको उमेदवार सहित मतदाताको घर–घर मात्रे होइन मतदाता खोज्दै खेतबारी र खरानमै पुगेका छन् ।

अघिपछि बाटो पर्दा पनि आँखा तर्नेहरू हात जोड्दै मतदाता रिझाउन लागेका छन् । विहानको झिसमिसेदेखि साँझको घुर्मौलोसम्म उम्मेदवार र उनका समर्थकहरू मतदाताकै घरदैलोमा हुन्छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भई दोस्रो पटक उम्मेदवार बनेकाहरु आफुहरुले ५ वर्षमा गरेका कामको बेलिबिस्तार लगाउँदै आगामी ५ वर्षमा गर्ने कामहरुको बारेमा बताई रहेका छन् भने पहिलो पटक उम्मेदवार बनेकाहरु पहिलेका प्रतिनिधीहरुले देखाएका सपनाहरु पुरा नगरेको आरोप लगाउँदै आफु नेतृत्वमा आए समग्र बर्दिया जिल्लाको नै कायापलट हुने दाबी गर्दै मत मागि रहेका छन् ।

कतै सुकुम्बासी जनतालाई लालपुर्जाको आश्वासन, कहिँ शिक्षा, स्वास्थ्यको कुरा देखी बिकसित र ब्यवस्थित बर्दिया निर्माण सम्मको कुरा गर्दै मत माग्दै नेताहरु गाउँगाउँ पसि रहेका छन् । मत माग्ने तरिका अलग अलग भए पनि आश्वासन भने पहिलो पटक उम्मेदवार बनेका हुन् वा दोस्रो पटक उम्मेदवार बनेका सबैको उस्तै उस्तै नै ।

नेताहरुले मतदातालाई आश्वासन दिँदै गर्दा मतदाता पनि के कम, जुन पार्टीका वा स्वतन्त्र उम्मेदवार आए पनि हाँसेर स्वागत मात्रै गर्दैनन्, सबैलाई मत दिने भनेर आश्वासन दिँदै फुरुङ्गै पारिदिन्छन् । उम्मेदवारहरूले आफूलाई योग्य देखाउन प्रयत्न गरेका छन्, अब मतदाताले पनि योग्यतम प्रतिनिधि छान्न आफ्नो विवेक प्रयोग गर्न सक्नुपर्दछ ।

Leave A Reply

Your email address will not be published.