मधुवन नगरपालिकाको धनौरा क्षेत्रमा जंगली हात्तीको आतङ्क
हात्तीले आतङ्क मच्चाएपछि काँचो केरा कम मुल्यमा बेच्दै कृषक
ढोढरी, बर्दिया : मधुवन नगरपालिकाको धनौरा क्षेत्रमा पछिल्लो समय जङ्गली हात्तीको आतङ्क बढेको छ । भारतीय सीमावर्तीे जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धानबाली लगायतमा क्षति गर्न थालेपछि स्थानीयहरु त्रसीत बनेका छन् ।
भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केराखेतमा आतङ्क मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको स्थानीयको गुनासो छ । भारतीय सीमावर्तीबाट आउने जङ्गली हात्तीले बर्सेनि चार–पाँच घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती खाइदिने गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले स्थानीय बासिन्दाको त्रासमै दिन बित्ने गरेको छ ।
धनौरा क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुन्जबाट बाघ, हात्ती लगायतका जंगली जनावरहरु आहारका लागि ओहोर–दोहोर गरिरहेका हुन्छन् । गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो भने यस वर्ष हालसम्म हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ ।