बर्दिया : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचनको आचारसंहिता पालना गर्ने पार्टीका प्रतिनिधिहरुले प्रतिवद्दता जनाएका छन् । संवाद समूह, बर्दियाको आयोजनामा शुक्रबार भएको संवाद कार्यक्रममा सहभागी विभिन्न पार्टीका प्रतिनिधिले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्दता जनाएका हुन् ।
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउने उद्देश्यले संवाद समुहले राजनीतिक पार्टीलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ । निर्वाचनलाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण र सभ्यरुपमा सम्पन्न गराउन विभिन्न पार्टीका प्रतिनिधिहरुले आचारसंहिताको पालना गर्ने प्रतिवद्दता जनाएका छन् । निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी कृष्ण कुँवरले बताउनुभयो । प्रशासनले दण्ड जरिवाना गरेर वा बाध्यकारी बनाएर मात्र आचारसंहिताको पालना गर्नु भन्दा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आफैले मनन गरेर आचारसंहिता पालन गर्नुपर्नेमा निर्वाचन अधिकारी कुँवरले जोड दिनुभयो ।
संवाद समूह, बर्दियाले आयोजना गरेको संवाद कार्यक्रमले निर्वाचनमा सहयोग पुग्ने मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले बताउनुभयो । निर्वाचन आचारसंहिता सबैले पालना गरे निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । सहभागीहरुको जिज्ञासाको सम्बोधन गर्दै निर्वाचनमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले प्रचार प्रसार गर्न नपाउने र प्रचार प्रसार लगायतका काममा सरकारी सवारीसाधन पनि प्रयोग गर्न नपाउने मुख्य निर्वाचन अधिकृत सुवेदीले प्रष्ट पार्नुभयो ।
कसैले आचारसंहिता उल्लघंन गरेमा अनुगमन अधिकृत, निर्वाचन कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउन उहाँले अनुरोध समेत गर्नुभयो । राजनीतिक पार्टीका तर्फबाट प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिवद्दता जनाउँदा मुख्य निर्वाचन अधिकृत सुवेदीले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदी, जिल्ला निर्वाचन अधिकारी कृष्ण कुँवर, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु लगायत सदस्यहरुको सहभागिता रहेको संवाद समूह, बर्दियाका सहजकर्ता भावुक योगीले बताउनुभयो ।