बर्दिया निकुञ्ज कार्यालयबाटै खाग र बाघका २५ दाह्रा गायब
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको पुरानो कार्यालयमा राखिएको स्टोरबाट गैंडाको खाग र बाघको दाह्रा गायब पारिएको छ । पुरानो कार्यालय खाली भएपछि आखेटोपहार राख्ने एउटा कोठा बाहेक अन्यमा महिला गेमस्काउट बस्ने आवास बनाइएको छ ।
साउन २२ गतेअघि घटना भए पनि यसको सार्वजनिक नगरी दसैंअघि गायब पारिएको विभागलाई निकुञ्जले जानकारी गराएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारीले जिन्सी शाखामा रहेको सामानको अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघको २५ वटा दाह्रा नभेटिएको बताउनुभयो । आखेटोपहार राखिएको ठाउँको सुरक्षा जिम्मा नायब सुब्बा नभएका कारण सिनियर गेमस्काउट सुभाष थारुलाई दिइएको थियो । नायब सुब्बा सरुवा भइ आएपछि थारुले जिम्मेवारी दिँदा त्यहाँ राखिएको वन्यजन्तुको अंग फेला नपरेको हो ।
महिला गेमस्काउट बस्ने भएकाले त्यहाँ सीसी क्यामेरा जडान गरिएको थिएन । महिला कर्मचारी त्यहाँ बस्ने गरेकाले जिन्सी स्टोर पुग्न समस्या हुने गरेको सिनियर गेमस्काउट थारुले बताउनुभयो सुरक्षित स्थान भएकोले नियमित चेक जाच नहुने गरेको र सीसी क्यामेरा नभएका कारण अनुसन्धानमा समस्या भएको निकुञ्ज स्रोतले बताएको छ ।
निकुञ्जका कर्मचारीको आवास त्यहीँ हुनु र सुरक्षाको व्यवस्था कडा भए पनि आखेटोपहार गायब हुनुलाई कर्मचारीको संलग्नता भएको आशंका गरिएको छ । गत असारमा प्राकृतिक कारणले मारिएको गैंडाको खाग सुकाएर जिन्सीमा राख्न लाग्दा अन्य वन्यजन्तुको आखेटोपहार त्यहाँ नभेटिएपछि खोजी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भण्डारीले बताउनुभयो । घटनाबारे अहिलेसम्म कसैलाई निलम्बन गरी कारबाही अघि बढाइएको छैन । घटनाको सम्बन्धमा बर्दिया निकुञ्जले सहायक संरक्षण अधिकृत आशिष न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
यसैगरि वन्यजन्तु अपराध नियंत्रण शाखाका प्रमुख मनोज शाहको संयोजकत्वमा ६ सदस्यीय छानबिन समितिले काम सुरु गरेको छ । उक्त समितिमा विभागका कानुन अधिकृत, नेपाल प्रहरी, सीआइबीका प्रतिनिधि र विभागका अधिकृत रहेका छन् । घटनाबारे प्रतिक्रिया दिँदै प्रमुख संरक्षण अधिकृत भण्डारीले दोषीलाई कुनै हालतमा उम्कन नदिने बताउनुभयो । साभार : कमल पन्थी/कान्तिपुर