![Sambad ADD long](https://onlinesambad.com/wp-content/uploads/2022/08/ADD.jpg)
बर्दिया : कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट ३० वर्ष सजाय सुनाइएका फरार एक व्यक्ति ६ वर्ष पछि पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ बस्ने फरार रहेका अजिव बुढाक्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ गरेको हो ।
फरार रहेका बुढाक्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कात्तिक २१ गते सोमबार घरबाट नै पक्राउ गरेको हो । ठाकुरबाबा नगरपालिका–८ बस्ने ६९ वर्षिय जोरासिंह भन्ने जोरे थापालाई २०७२ साल फागुन ५ गते राती ९ः३० बजेको समयमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पक्राउ परेका थिए । जोरे थापालाई आफ्नै घरको पिडीमा सुति रहेको अवस्थामा घरायसी रिसिईबीका कारण टाउकोमा धारिलो हतियार दाउले प्रहार गरी कर्तव्य गरी मारी फरार भएका बुढाक्षेत्रीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि हिरासतमा राखि सम्पूर्ण अनुसन्धान कार्य पुरा भए पश्चात २०७२ साल फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
अदालतमा बयान कार्य सम्पन्न गरी प्रहरीको जिम्मा रहेको अवस्थामा बुढाथापाले शौचालय जान्छु भन्ने बहाना गरी शौचालयको भ्यान्टिलेसनबाट निस्कीएर हाल सम्म फरार रहेका थिए । फरार रहेका बुढाथापालाई २०७३ साल पुष २४ गते जिल्ला अदालत बर्दियाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेतमा गरी जम्मा ३० वर्ष कैद सजाय तोकिएकोमा प्रतिवादी टोपे भन्ने अजिव बुढाक्षेत्री हालसम्म भारतमा लुकिछीपी बस्ने गरेको र भारतबाट हाल घरमा आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी पक्राउ गरेको हो । फरार रहेका अजिव बुढाक्षेत्रीलाई नियन्त्रणमा लिएर कात्तिक २१ गते सोमबार जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।
बुढाथापा सहित कात्तिक महिनामा थप ३ जना फरार प्रतिबादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बर्दिया सफल भएको छ । यस अघि २०७८ साल मंसिर १ गते अदालतले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तथा जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका बारबर्दिया नगरपालिका–२, बस्ने योगेन्द्र ज्ञवालीलाई कात्तिक १४ गते बर्दिया प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै २०७५ असार १३ गते अदालतबाट जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दामा २ महिना कैद सजाय तोकिएका बारबर्दिया नगरपालिका–६, बस्ने प्रेमलाल थारुलाई कात्तिक १६ गते र २०७३ असोज ६ गते ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा जिल्ला अदालत बर्दियाबाट १ वर्ष ११ महिना ४ दिन कैद सँजाय र एक लाख रुपैयाँ जरवाना तोकिएका प्रतिबादी रुपलाल देवकोटालाई कात्तिक १८ गते शुक्रबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
विशेष रणनितिक योजना बनाएर प्रहरी परिचालन गरेपछि फरार अपराधीहरु पक्राउ गर्न प्रहरी टोली सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीले बताउनुभयो ।