भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा नमूना मतदान अभ्यास गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन लक्षित नमूना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन कार्यालय, बर्दियाले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय, बर्दियाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी सोमबार ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँमा नमूना मतदानको आयोजना गरेको हो ।
निर्वाचनमा मतदातालाई स्पष्टता दिन तथा मतदान केन्द्रसम्म पुग्ने, मतदान कति ठाउँमा दिने, कसरी मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्नु लगायत जागरुक बनाउन नमूना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय, बर्दियाका निर्वाचन अधिकृत कृष्ण बहादुर केसीले जानकारी दिनुभयो । नमूना मतदानबाट मतदाताहरूलाई मत बदर हुनबाट जोगाउन मद्दत गर्ने समेत उहाँले बताउनु भयो ।
नमूना मतदानमा महिला र पुरुष गरी ७२ जना मतदाता सहभागी भएका थिए । नमूना मतदानका क्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मात्रै मतगणना गरिएको थियो । जसमा खसेको ७२ वटा मतमा ७० सदर भएको र २ वटा मत बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो । यस अघि गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकामा नमूना मतदानको अभ्यास सम्पन्न भइ सकेको छ ।
यसैगरी बर्दियामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । कात्तिक १७ गते बिहिबारबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बर्दियाले जिल्लाका ८ वटा स्थानीय तहको ७५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको जनाइएको छ ।
ठाकुरबाबा नगरपालिकामा मतदाता शिक्षा कार्यक्रमका लागि वडा तहमा कर्मचारी परिचालन गरी मतदाता शिक्षा सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो । वडा वडामा खटिएका स्वास्थ्य स्वयंसेविकाहरूले मतदान केन्द्रसम्म पुग्ने, मतदान गर्ने, मतपत्र पट्याउने, मतपत्र मतपेटिकामा खसाल्ने लगायतको जानकारी मतदातालाई दिनेछन् ।
गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर मतको संख्या बढी भएकाले यस पटक बदर मत कम गर्न मतदाता शिक्षा प्रभावकारी हुने ठाकुरबाबा नगरपालिका वडा १ का वडा सचिव केशव प्रसाद खनालले जानकारी दिनुभयो ।