रेडियो टाइगरका प्रवन्ध निर्देशक भावुक योगी सम्मानित

भुरीगाउँ, बर्दिया : खाता जैविक मार्ग क्षेत्रमा हात्ती संरक्षण तथा हात्तीप्रती मानव व्यवहारबाट सकारात्मक भइ मानव हात्ती सह-अस्तित्व कायम गर्ने अभियानमा कलम चलाए वापत् रेडियो टाइगरका प्रवन्ध निर्देशक तथा अनलाइन संवाद डट कमका प्रधान सम्पादक भावुक योगी ‘हात्ती मेरो साथी’ अभियान संचालन गरिरहेको उज्यालो नेपाल, बर्दिया संस्थाद्वारा सम्मानित हुनुभएको छ ।
वन्यजन्तु तथा वातावरण संरक्षणका सवालमा उत्कृष्ट समाचार सम्प्रेष्ण गरे वापत मानव हात्ती सह-अस्तित्वका लागि ‘हात्ती मेरो साथी’ अभियान संचालन गरिरहेको उज्यालो नेपाल संस्थाले रेडियो टाइगरका प्रवन्ध निर्देशक तथा अनलाइन संवाद डट कमका प्रधान सम्पादक एवम् नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष र उज्यालो रेडियो नेटवर्कका संवाददाता समेत रहनुभएका पत्रकार योगी सम्मानित हुनुभएको हो ।
उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी र डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविन विडारीले संयुक्त रुपमा पत्रकार योगीलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।
झण्डै १९ वर्षदेखि वन, वन्यजन्तु तथा वातावरण संरक्षणका पक्षमा कलम चलाउँदै आउनुभएका रेडियोकर्मी पत्रकार योगीले ७ वर्षअघि बाघ संरक्षणमा टेवा पुग्ने उदेश्य सहित रेडियो टाइगर पनि बर्दियाको भुरिगाउँमा संचालनमा ल्याउनुभएको छ । संरक्षण अभियानमा समाचार सम्प्रेषण गरे बापत बेलाबेला उहाँलाई विभिन्न संघ–संस्था तथा कार्यालयले सम्मानित गर्दै आएका छन् ।
यसैगरी पत्रकार योगीसहित ५ जना अरु पत्रकारहरुलाई पनि उज्यालो नेपाल संस्थाले सम्मान गरेको छ । राजधानी दैनिकका लागि बर्दिया संवाददाता सुदिप अधिकारी, नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे, नेपाल टेलिभिजनका संवाददाता डिलप्रकाश गौतम, पत्रकार हरि गुरुङ र सरम चौधरी पनि सम्मानित हुनुभएको संस्थाका कर्मचारी रमेश कुमार थापाले जानकारी दिनुभयो ।