onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

निर्वाचनमा चारवटा मतपत्रमा मतदान गर्नुपर्ने

Sambad ADD long

काठमाण्डौ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालोरङ्को निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।

यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मतदाताले मतदान केन्द्रमा आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ । महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ । गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपाङ्गगता भएका व्यक्ति तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत सङ्केत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.