बर्दियामा बाघको आक्रमणबाट दुईजना घाइते
बर्दिया : पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका गुलरिया नगरपालिका-१, खैरापुर बस्ने वर्ष ३२ का राकेश लोध र मधुवन नगरपालिका-७ बस्ने वर्ष ४१ का सोम श्रेष्ठ बाघको आक्रमणमा परी घाइते भएको इलाका प्रहरी कार्यालय, ढोढरीका प्रहरी निरीक्षक महेन्द्रजङ्ग बुढथापाले जानकारी दिनुभयो ।
कार्तिक ४ गते साँझ ५ः३० बजे च्याउ खोज्न जंगल गएको बेला पाटेबाघले आक्रमण गरेको हो । घाइतेमध्ये सोम श्रेष्ठको अवस्था गम्भीर रहेको छ उनको दाहिने खुट्टा क्षतविक्षत छ भने शरीरका विभिन्न भागमा बाघको नङ्ग्राले चिथोरेको छ । श्रेष्ठका साथमा गएका राकेश लोध भने सामान्य घाइते रहेको मधुवन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्र हमालले जानकारी दिनुभयो ।
घाइतेहरुको उपचार नेपालगञ्ज स्थीत भेरी अस्पतालमा भई रहेको र अवस्था सामान्य हुँदै गएको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक बुढथापाले जानकारी दिनुभयो ।