बर्दिया : दुई साताअघि दशैँका बेला परेको अबिरल वर्षाका कारण कर्णाली नदी र आसपासका खोला नालामा आएको बाढीका कारण बाढीबाट प्रभावित भएको क्षेत्र बर्दियाको राजापुरमा संचालन गरिएको विशेषज्ञ डाक्टरसहितको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
राजापुर नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनमा राजापुर नगरपालिका वडा नम्बर ४ को राजापुर बजारमा रहेको अमर सहिद दशरथ चन्द माध्यामिक विद्यालयको खेल मैदानमा शुक्रवार विहानदेखि विशेषज्ञ डाक्टरसहित नि:शुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।बाढी प्रभावित क्षेत्रका पाढीपीडितहरुलाई सहयोग गर्ने उदेश्यले राजापुर नगरपालिका र नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो ।
नेपाली सेनाको श्री ४ नम्बर बाहिनी अड्डा बाँकेका सहायक रथी उत्तम कुमार बिस्टको निर्देशनमा बज्रदल गण राझा बाँकेका गणपती श्याम आत्रेय पौडेल, सेनानी शिव थापासहितको टोलीले स्थलगत अध्ययन पश्चात नगरप्रमुख दिपेश थारुको आग्रहमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो । राजापुर नगरपालिका वडा नम्बर ८ का जेष्ट नागरिक ८५ बर्षिय मान बहादुर थारुको स्वास्थ जाँचबाट सुरु भएको शिविरमा ४८७ जनाले जनरल स्वास्थ सेवा लिएका छन् भने महिला तथा स्त्री रोगका ५५ जना, छाला रोगका १०८ जना गरि ६४१ जनाले जाँच तथा उपचार सेवा लिएका छन् ।
शिविरमा ल्याब सेवा ५० जना, एक्सरे सेवा ४० जना, इसिजी सेवा १० जनाले लिएको स्वास्थ्य शिविर व्यवस्थापनमा खटिनुभएका सेनानी शिव थापाले बताउनुभयो । निशुल्क स्वास्थ शिविरमा जनरल फिजिसियन सेवा, प्रसुती तथा महिला रोग सम्बन्धि सेवा, छाला तथा यौनजन्य रोग सम्बन्धी सेवाका साथै अन्य विभिन्न स्वास्थ सम्बन्धि सेवा प्रदान गरिएको थियो ।
अपेक्षा भन्दा निकै प्रभावकारी भएकाले स्वास्थ्य शिविर सफल बनाउन सहयोग र समन्वय गर्नु हुने सबैलाई धन्यवाद दिँदै फेरी पनि जनसमुदायबिच यस्तै सामाजिक सेवाका कार्यक्रम लिएर आउने नेपाली सेनाका गणपति श्याम आत्रेय पौडेलले प्रतिबद्धता जनाउनुभयो ।
नेपाली सेना श्री ४ नं बाहिनी अड्डाका बाँकेका सहायक रथी उत्तम कुमार बिस्टले शिविरको अनुगमन गर्दै शिविर अत्यन्तै सफल भएको र सहकार्यका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । स्वास्थ्य शिविरमा बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको समेत उपस्थिति रहेको थियो ।
नेपाली सेना राष्ट्रिय सुरक्षामात्र नभएर विपदमा जनताको सेवामा, विकास निर्माणमा सक्रिय हुँदै आएको छ । नेपाली सेनाका यस्ता खालका सामाजिक कामले नेपाली सेना स्थानीय सरकार र जनताबिचको सम्बन्ध राम्रो हुने स्थानीयबासीन्दाले जनाएका छन् । स्वास्थ शिविरले स्थानीबासीन्दा खुसी भएका छन्, आउँदा दिनमा यस्ता खालका काम गर्न हामिलाई उत्साह बढेको भन्दै फेरि पनि अर्को स्थानमा यस्तै खालको स्वास्थ शिविर संचालन गर्ने नगर प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपानेले बताउनुभयो ।
शिविर सफल बनाउन सहयोग गर्ने राजापुर नगरपालिका स्वास्थ शाखा, नेपाली सेना, भेरी अस्पताल बाँके, जिल्ला अस्पताल गुलरिया, स्वास्थकर्मी, प्राथमिक स्वास्थ केन्द्र राजापुर यसैगरी औषधि उपलब्ध गराउने केयर नेपाल, बि ग्रुप बाँके प्रती नगरप्रमुख दिपेश थारुले आभार व्यक्त गर्दै यस्ता खालका सहयोग र समन्वयको निरन्तर अपेक्षा गर्दै उहाँले एकदिन अघिदेखि खटिएर व्यवस्थापन गर्ने सम्पुर्ण नेपाली सेना र टिम लिडर सेनानी शिव थापालाई पनि विशेष धन्यवाद व्यक्त गर्नुभयो ।