onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

समस्याग्रस्त पाटेबाघ शिवपुर फाँटाबाट बर्दिया निकुञ्जको नियन्त्रणमा

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को मालिका सामुदायिक वन क्षेत्रको शिवपुर फाँटाबाट आतंक मच्चाउने पाटेबाघलाई नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुन्जको शिवपुर एकीकृत उपभोक्ता समूह अन्तरगत ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ६ र ७ मा पर्ने कालिगौडी, शिवपुर फाँटा, भदेली तथा बलाती गाउँक्षेत्रमा बाघले गाई, गोरु, बाख्रा, बङ्गुर र मानिसहरूमा आक्रमण गरीसकेको र अरुपनि घटना घट्ने त्रास स्थानीयमा देखिएकाले निकुञ्ज सुरक्षार्थ खटिएको देबिदत्त गण ठाकुरद्वाराका सेनानी लक्ष्मी गौतमको कमाण्डमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका १५ जना प्राविधिक र ३ वटा हात्तीको सहयोगमा आज बिहान बाघ नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रबिन कडरियाले जानकारी दिनुभयो ।

केहि महिना अघि बाघको आक्रमणबाट शिवपुर क्षेत्रमा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएपछि घटनास्थल क्षेत्रमा स्वचालित क्यामेराजडान गरी भौतिकरुपमा नियमित अनुगमन गरिँदै आएको र नियमित अनुगमन पछि समस्याग्रस्त बाघको पहिचान गरी बाघ नियन्त्रण्मा लिइएको हो । निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीको टोलीले ठाकुरबाबा नगरपालिकाको शिवपुर फाँटा क्षेत्रबाट समस्याग्रस्त पाटेबाघलाई डार्टमार्फत् लठ्याएर नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको समस्याग्रस्त बाघ बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारामा रहेको खोरमा सुरक्षित साथ राखिएको सूचना अधिकारी संजेलले बताउनु भयो । नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटेबाघ करिव १६ वर्षको भाले रहेको छ । सूचना अधिकारी संजेलका अनुसार नियन्त्रणमा लिएको पाटेबाघ बुढो रहेको, स्वास्थ्यमा समस्या र दाँत तथा नंग्रा भाँचिएको अवस्थामा छ । निकुञ्जले हाल सम्म ८ वटा समस्याग्रस्त पाटेबाघलाई नियन्त्रणमा लिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविकमार्ग क्षेत्र अन्तरगतका विभिन्न ठाउँहरुमा तीन वर्षयता बाघको आक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ । निकुञ्जले नियन्त्रणमा लिएका समस्याग्रस्त बाघहरु मध्ये बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा दुई र रम्बापुरमा दुई वटा गरी चार वटा बाघ बर्दियाका नै राखिएको छ । अन्य बाघहरु ललितपुर स्थीत सदर चिडियाखानामा एक, चितवन राष्ट्रिय निकुञ्जमा एक र बाँके राष्ट्रिय निकुञ्जमा दुई वटा पठाइएकोमा एउटा बाघ खोरबाट नै भागेको छ ।

Leave A Reply

Your email address will not be published.