भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ डुम्रेनी गाउँमा पूर्ण सरसफाई युक्त पालिकाको अभियान, आ–आफ्नैे पहलमा हात धुने स्थान भन्ने नारा सहित १ दिने वृहत सामुदायिक अभियान कार्तिक २ गते बुधबार सम्पन्न भएको छ ।
गेरुवा जागरण सँघ बर्दिया र रेडियो टाइगरको समन्वय तथा सहकार्यमा भएको कार्यक्रम डुम्रेनी गाउँमा घरघर गएर हातधुने अभियानको विषयमा जानकारी, हातको माध्यमबाट लाग्न सक्ने रोगको बारेमा जानकारी तथा सोको रोकथामका लागि घरघरमा टुटि र ढक्कन सहितको हात धुने स्थान बनाउन पर्ने जानकारी गराइएको छ । फोहोर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटि र ढक्कन सहितको हात धुने स्थान बनाउन उपयुक्त हुने निष्कर्ष निस्कीए संगै नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई र स्वच्छता समन्वय समितिसंग छलफल गरेर पालिका भरि नै हात धुने कार्यलाई ठाकुरबाबा नगरपालिकामा अभियानको रुपमा सञ्चालन गरिएको गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरी सुवेदीले बताउनु भयो ।
पुर्ण हात धुने अभियान अन्तरगत विक्रम सम्वत् २०८० साल सम्म नगरपालिका भित्रका सबै घर, सार्वजनिक तथा निजी सेवा प्रदायक सस्थाहरुमा साबुनपानी सहितको हात धुने स्थान भएको सुनिश्चित गर्ने रणनीतिक लक्ष्य ठाकुरबाबा नगरपालिकाले लिएको छ । पूर्ण हात धुने अभियान शुभारम्भ कार्यक्रमका सहभागीहरुले पूर्ण हात धुने नगरपालिका बनाउन साझा प्रतिबद्धता ब्यक्त गरेका छन् ।
डुम्रेनी गाँउको घरघरमा गएर सर्वेक्षण गर्दा करिव ५० प्रतिशत घरधुरीमा मात्रै टुटि र ढक्कन सहितको हात धुने स्थान बनाएर प्रयोगमा ल्याएको पाइएको छ । यो अभियानलाई पूर्ण रुपमा सफल पार्न र कार्यान्वायन गर्ने आधार तयार गर्न पहिला देखि नै केहि कार्यहरु गरीएको भए पनि औपचारीक रुपमा भने भदौ ५ गतेबाट अधियानको सुभारम्भ गरिएको हो । नेपालको संविधानमा उल्लेखित नागरिकका मौलिक हकहरु मध्ये स्वास्थ्य र सरसफाइलाई कार्यान्वायन गर्न तथा विकासका लक्ष्यहरु मध्ये लक्ष्य नम्बर ६ खानेपानी तथा सरसफाई हाँसिल गर्न स्थानीय सरकार ठाकुरबाबा नगरपालिकाले थप अध्ययन र पहलहरु गरिरहेको छ ।
सन् २०२१मा नगरपालिकाका विभिन्न वडा, विद्यालय र सरोकारवालाहरु संग गरिएको छलफल र सन् २०२२मा तेर दे जोम्स र गेरुवा ग्रामिण जागरण संघ बर्दियासंगको सहकार्यमा गरिएको अध्ययनबाट हेन्डपम्प, ट्युवेल खिचेर हात धुने बालबालिका, विरामी, अपागंता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई अप्ठेरो भएको र नियमित हात धुने अवस्थामा कमि आएको कुरा पत्ता लागेपछि विकल्पको खोजि भएको हो ।
पुर्ण हात धुने अभियानको रणनीतिक योजनाका उद्देश्यहरुमा हात धुने अभियानका लागि कानुनी, संस्थागत तथा संरचनागत संयन्त्र निर्माण गर्नु, हात धुने अभियानका साझेदार र सरोकारवालाहरुको पहिचान गरि पैरवी र क्षमता विकास गर्नु, हात धुने अभियान प्रभावकारी रुपमा संचालन गर्न साझेदार र सरोकारवालाहरुसंग उपलब्ध दक्ष जनशक्ती सामग्री तथा आर्थिकस्रोत परिचान गर्नु र पूर्ण हात धुने अवस्था हाँसिल गरेको टोल, गाँउ, वडा र पालिका घोषणा गर्नु संगै सो अभ्यासलाई संस्थागत गर्नु रहेको छ ।