बर्दिया : ‘अब हाम्रो पालो: हाम्रो अधिकार, हाम्रो भविष्य’ नारा सहित बारबर्दिया नगरपालिका–३ बस्ने १७ वर्षिय प्रतिभा थारु प्रहरी चौकी रामपुरको प्रहरी निरिक्षक तथा १६ वर्षिय किशोरी अर्चना चौधरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाबज्जाको प्रधानाध्यापक बनेका छन् । ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ का अवसरमा ‘गल्स टेकओभर’ अभियान अन्तरगत एक दिनका लागि प्रतिभा थारुले प्रहरी निरिक्षक तथा अर्चना चौधरीले प्रधानाध्यापकको पद सम्हालेका हुन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामना सहित आफ्नो पद हस्तान्तरण गर्दै प्रहरि चौकी बनियाभार रामपुरका प्रहरी निरिक्षक हरिहर खड्काले गर्ल्स टेक ओवर जस्तो अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो पुरुषप्रधान समाजमा बालिका हुनु अभिशाप नै हो जस्तो गरिन्छ । महिला तथा बालिकाको हक अधिकारको बारेमा जति नै सुकै स्तरमा छलफल गरे पनि, कानुन बने पनि त्यसको कार्यन्वयन पक्ष निकै फितलो रहेको छ । यद्यपि अहिले धेरै महिलाले नेतृत्वदायी भूमिकामा आइरहनु भएको छ । गर्ल्स टेक ओवर जस्तो अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिकाहरू अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने छ।’
यस्तै गर्ल्स टेक ओवर कार्यक्रम अन्तरगत नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बेलवाबज्जाको प्रधानाध्यापक जिम्मेवारी एकउ दिनका लागि अर्चना चौधरीले सम्होलेकी छिन् । परिवर्तनका संवाहक (सीओसी) कक्षा बाट छनौट भएका किशोरीहरुलाई एक दिनका लागि बिभिन्न क्षेत्रको जिम्मेवारी प्रदान गरिएको हो । मंगलबार देखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।
सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् । प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मञ्च, समाज जागरण केन्द्र (स्याक), बि–ग्रुप र बाँके युनेस्को क्लबको संयुक्त साझेदारिमा कार्यक्रमको संचालन गरिएको आयोजक संस्था स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
के हो गर्ल्स टेक ओभर अभियान ?
बाल अधिकार त्यसमा पनि विशेषतः बालिकालाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो ।
नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजसँगको हातेमालोमा हामी दाजुभाइ संस्थाको प्राविधिक सहयोगमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा अभियानलाई निरन्तरता दिएको छ । यस वर्ष संघीयस्तरका संघसंस्थाका साथसाथै जुम्ला, कालिकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्था लगायतमा प्रमूख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिने छ ।
त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुख, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघको प्रमुख लगायतको भूमिकामा एक दिनका लागि विभिन्न जिल्लाहरूबाट आएका किशोरीहरूले नेतृत्व हस्तान्तरण भएको छ । गत वर्ष कालिकोट,जुम्ला, सिन्धुली, बाँके, बर्दिया र मकवानपुरका किशोरीले नगर प्रमुख र उपप्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
प्रायः यस अभियान अन्तर्गत विभिन्न जिल्लाका किशोरीले स्थानीय, जिल्ला र सङ्घीयस्तरका प्रमुख तथा उपप्रमुखको भूमिका निर्वाह गर्छन् । जिल्ला, प्रदेश,संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाकोशक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल भइरहेको छ ।
अधिकांश समय राजनीतिलाई पार्टिगत रुपमा मात्र हेरिएको तर संरचनागत विभेद, शक्ति र अवसरसँग नजोडिएकोले यस पटक बालिका दिवसको अवसरमा किशोरीको राजनीतिक अधिकारको विषयमा आवाज उठाएको कुरा आयोजक संस्थामध्येका हामी दाजुभाइका उपाध्यक्ष पूजा श्रेष्ठले बताइन । गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशिल संस्था, हामी दाजुभाइ, प्लान इन्टरनेशनल नेपाल, ग्रामीण महिला सेवा केन्द्र, मकवानपुर, जनजाती समाज विकास समिति, सिन्धुली, सामुदायिक समाज उत्थान केन्द्र, सुनसरी, मानवअधिकार तथा वातावरण केन्द्र, कालिकोट, स्याक नेपाल, बाँके, आत्मसम्मानका लागि सहकार्य, जुम्ला, बी–गु्रप बाँके, बर्दिया लगायतका संस्थाको साझा अभियान हो ।
अन्तर्राष्ट्रिय बालिका दिवस
हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टुबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ ।
समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथ किशोरी बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य रहेको छ।