बढैयाताल दशगजा क्षेत्रबाट ब्राउन सुगरकाे काराेबार गर्ने ४ जना पक्राउ

बर्दिया : बढैयाताल गाउँपालिका–२, फुटाहा दशगजा नजिकबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जना र नीजहरुको बयानको आधारमा अन्य दुई जना गरी चार जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले असोज २१ गते साँझ ५ः४५ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

दशगजा क्षेत्रबाट पक्राउ पर्नेहरुमा बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ४ बस्ने सिमोन बि.क. र खजुरा गाउँपालिका वडा नम्बर १ बस्ने ललित भुजेल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको साथबाट ४ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर संगै भे. ८ प ३८०९ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

लागु औषध सहित पक्राउ परेकाहरुलाई थप सोधपुछ गर्ने क्रममा बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर १ बस्ने भानु सिग्देल र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने राजेश बि.क.ले ल्याउन पठाएको भन्ने जानकारी दिए संगै चारै जनालाई पक्राउ गर्न बर्दिया प्रहरी सफल भएको हो ।

पक्राउ परेका चार जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो । पछिल्लो समय बर्दियामा ब्राउन सुगरको कारोबारमा बृद्दि भएको छ भने ब्राउन सुगरको कारोबारीलाई पक्राउ गर्न बर्दिया प्रहरीले सफलता पाई रहेको छ ।

Loading...