बर्दिया : मङ्गलवार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदी अन्तरगत जब्दीघाटको पुल बगाएको छ । बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल भाँसिएपछि दुई पालिका जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ ।
बारबर्दिया र गुलरिया जोड्ने पुल आठ वर्षअघि निर्माण भएको थियो । विक्रम सम्वत् २०७१ मा बबईमा आएको बाढीले यस पुलको बीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।
केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको १७ वटा स्परमध्ये बिच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिनुभयो । यसअघि भाँसिएको पुलबाट मानिस र हलुका सवारी साधन आउजाउ गर्ने गर्थे । पूर्व-पश्चिम राजमार्ग जोड्ने उक्त पुल बगाएपछि बारबर्दिया र गुलरिया नगरपालिकाका हजारौं बासिन्दा प्रभावित भएका छन् ।
१६ करोड ६८ लाख रुपैयाँ लागतमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै भासिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुलमा भ्रष्टाचार भएको भन्दै पाँच वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले ठेकेदार कम्पनी सहित १३ जना कर्मचारी दोषी ठहर गरेको थियो ।