
भुरीगाउँ, बर्दिया : पछिल्लो समय महामारीको रुपमा फैलिरहेको डेंगी रोगको रोकथामका लागि ठाकुरबाबा नगरपालिका वडा नम्बर १ मा सचेतना सहित सरसफाई कार्यक्रम संचालन गरिएको छ ।
गाउँमा घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झारहरु उखेल्ने तथा बाटोमा भएका कागजका टुक्राहरु जलाएर सरसफाई गरिएको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा सचिब केशब प्रसाद खनालले जानकारी दिनुभयो ।
डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सम्पूर्ण वडाबासीलाई जागरुक बनाउने उद्देश्यले वडाका विभिन्न ५ वटा टोलहरुमा सूचनामूलक जानकारी दिँदै सरसफाई गरिएको वडा सचिब खनालले बताउनु भयो । सम्पूर्ण स्थानीयलाई आफ्नो घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्न तथा घर आँगन सफा राख्न वडा कार्यालयले आग्रह समेत गरेको छ ।
सरसफाई कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले रोग लागेर उपचार गर्नु भन्दा रोग लान्न नदिनु नै उत्तम उपाय भएकाले सम्पूर्ण नगरवासीहरुलाई समयमै सचेत रहन आग्रह गर्नुभयो ।