विद्यार्थीको सहजताका लागि विद्यालयमा स्कुल बस
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । संघिय सरकारको नमूना विद्यालय कार्यक्रम अन्तरगत प्राप्त रकमबाट झण्डै ४० लाखको लागतमा खरिद गरिएको ४२ सिट क्षमताको स्कुल बस एक कार्यक्रमका बिच आज विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
विद्यालयमा संचालनमा रहेको पशु विज्ञान प्राविधिकधारका विद्यार्थीहरुलाई अन्य पालिका तथा क्षेत्रहरुमा संचालनमा रहेका कृषि, पशु फर्मको अध्ययन भ्रमण तथा अवलोकनको लागि सहजताहोस भनेर संघिय सरकारको नमूना विद्यालय कार्यक्रम अन्तरगत स्कुल बस खरिद गरिएको प्रधानाध्यापक नन्दराम अधिकारीले बताउनु भयो । विद्यालयको आफ्नै बस हुँदा प्राविधिकधार तर्फ कक्षा ९-१२ का विद्यार्थीहरुलाई साप्ताहिक रुपमा लगिने अवलोकन भ्रमणमा सहजता हुनुका साथै खर्चमा मितब्ययिता हुने विद्यालय प्रशासनले जनाएको छ ।
प्राविधिकधार तर्फका विद्यार्थीलाई अवलोकन भ्रमण संगै अन्य समयमा स्कुलबसले औराही खोला पारि क्षेत्रका विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याउनेलैजाने सेवा पनि दिने बताइएको छ । विद्यालयको प्रवेश वर्ष साठ्ठी, विद्यार्थी संख्या दुई हजार माथि भन्ने नारा तय गर्दै त्रिभुवन नमूना माध्यमिक विद्यालयले २०८० बैशाखसम्म विद्यालयमा विद्यार्थी संख्या २ हजार भन्दा माथि पुर्याउने गरी योजना बनाएर सोहि अनुसार कार्य भइरहेको समेत प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख तथा नगर शिक्षा समितीका पदाधिकारीहरुको उपस्थितीमा नगर प्रमुख तिलकराम लम्सालले त्रिभुवन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दराम अधिकारीलाई स्कुल बस हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन माध्यमिक विद्यालय विक्रम सम्वत् २०७६ सालमा नमूना विद्यालय घोषित भएको थियो ।
बर्दियामा भएका ११९ माध्यमिक विद्यालयमा ठाकुरबाबा नगरपालिकाको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा १ हजार ७५० भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।