‘अब सासको आश त छैन सरकार, लास कहाँ छ ? भनिदेउ’

बर्दिया : ‘गाउँको बाटो भएर कोही मानिस आउँदा हत्तपत्त दैलोमा आउँछु । खबर केही आयो कि भन्ने आशमा केही क्षण उत्साहित पनि हुन्छु । केही नभनी जब त्यो मानिस ओझेल पर्छ अनि म निराश हुन्छु । केहीबेर त्यहीँ टोलाउँछु । फेरि मन बुझाउँदै आफ्नै काममा लाग्छु ।’

बर्दिया ठाकुरबाबा नगरपालिका-८ की जयन्ती शाहीले गहभरि आँसु बनाउँदै भन्नुभयो । २१ वर्षअघि २०५८ सालमा श्रीमान बेपत्ता भएदेखि अहिलेसम्म पनि कुनै दिन केही त खबर आउँछ कि भन्ने उहाँको आश छ । तर दुई दशक पुग्दा पनि श्रीमानको अवस्था थाहा नहुँदा उहाँलाई पीडामाथि पीडा थपिएको छ ।

किनमेलका लागि स्थानीय बजार ठाकुरद्वारा जानुभएका जयन्तीका श्रीमान त्यहीँबाट बेपत्ता हुनुभयो । माओवादी सशस्त्र विद्रोहका बेला २०५८ सालमा तत्कालीन नेपाली सेनाले उहाँका श्रीमानललाई बजारबाटै समातेर लगेको भन्ने खबर जयन्तीले गाउँलेबाट सुनेको बताउनुहुन्छ । त्यसयता उहाँको श्रीमानको कुनै अत्तोपत्तो छैन । बेपत्ता श्रीमानको खोजीमा प्रहरी प्रशासन, संघ-संस्था जताततै चाहारेकी जयन्तीको अब श्रीमान फेला पार्ने आश चुँडिनै लागेको छ । ‘यतिका वर्ष जहाँतहीँ धाएँ, २१ वर्ष बितिसक्यो । कहीँबाट केही पनि खबर आएन । कहाँ बेपत्ता पारियो ? अब त सासको आश पनि मर्न थाल्यो’ उहाँले भावुक हुँदै भन्नुभयो ।

लामो समयको खोजीपछि राज्यले उहाँको श्रीमानलाई बेपत्ताको सूचीमा राखेको छ । राज्यले उहाँको श्रीमानलाई बेपत्ता भनेपछिका पछिल्ला वर्षमा उहाँ आर्थिक समस्यामा मात्रै होइन, सामाजिक समस्या र मानसिक तनावमा पनि हुनुहुन्छ । ‘साह्रै पीडा हुँदो रैछ । यतिका वर्ष आशै आशमा बित्यो । न सास भएको खबर आउँछ, न त लासको’ सरकारप्रति आक्रोश पोख्दै उहाँले भन्नुभयो ‘अब सासको आश त छैन सरकार, लास कहाँ छ ? भनिदेउ ।’

परिवार धान्ने श्रीमान नै बेपत्ता भएपछि जयन्तीको परिवार अहिले समस्यामा छ । जंगल नजिकको ऐलानी जग्गामा उहाँको घर छ । त्यही ऐलानी जग्गामा खनजोत गरेर जेनतेन परिवारको गुजारा चलाएको उहाँ बताउनुहुन्छ । राज्यको तर्फबाट पटक-पटक गरी पाएको १० लाख रुपैयाँ सहयोगले अहिलेसम्म जेनतेन घर चलेको जयन्तीले बताउनुभयो । श्रीमान फर्कने आशैआशमा उहाँले पारिवारिक र सामाजिक संस्कार पनि निर्वाह गर्न पाउनु भएको छैन ।

ठाकुरबाबा नगरपालिका-८ सुतैयाकै जानकी केसीको व्यथा पनि उस्तै छ । श्रीमान बेपत्ता भएको २१ वर्ष बित्यो । अझै केही अत्तोपत्तो छैन । श्रीमानको पखाईमा उहाँको मन भुलेको छ । बेपत्ता भएको वर्षौं भइसक्दा पनि केही खबर नपाउँदा श्रीमानको आशमा सासै जाने अवस्था आएको उहाँले बताउनुभयो ।

वर्षौं बित्दा पनि बेपत्ता श्रीमानको केही खबर नआउँदा आफू मानसिक र सामाजिक तनाव सहन बाध्य भएको उहाँले बताउनुभयो । ‘घरको मूली बेपत्ता हुँदा पारिवारिक समस्या त झेल्दै आएकी थिएँ । आर्थिक समस्याको त कुरै नगरौँ । अब त समाजले पनि हेर्ने दृष्टिकोणमा फरक पर्न थाल्यो । काजकिरिया गर्न समाजले दबाब दिन थाल्यो । के गर्ने म त दोधारमा छु । परिवारका सदस्य कोही बिरामी परे भने पनि पितृ जागेको भन्ने आरोप लगाउने गर्छन्’ जानकीले भन्नुभयो ।

द्वन्द्वको समयमा सेना र प्रहरीले मात्र हैन, माओवादीले पनि नागरिकलाई बेपत्ता पारे । जसले बेपत्ता पारेका भए पनि बेपत्ताका परिवारको व्यथा उस्तै छ । बगनाहाकी इन्द्रानी थारुले श्रीमान बेपत्ता भएपछि सासु ससुराका भनाइ सहन नसकेर छुट्टिनु पर्यो । उहाँका श्रीमान कन्हैया थारुलाई २०५८ सालमा माओवादीले आफूसँगै लगेका थिए । त्यसपछि उहाँको अत्तोपत्तो छैन । ‘आफ्नो जीविका र छोराछोरीको पढाइ खर्च चलाउन समस्या भएपछि कहिले इँटाभट्टा र कहिले खेतबारीमा ज्यालादारी गर्थेँ, दुःख पाएको मान्छे काम गर्न जानै पर्यो’ उहाँले भन्नुभयो । सरकारले बेपत्ता परिवारलाई सहयोग गर्नुपर्ने उहाँको माग छ ।

जमुनादेवी बुढाले पनि श्रीमान आउने बाटो हेरेर बसेको वर्षौं बितिसक्योे । २०५८ सालमा सेनाले बेपत्ता पारेको भनिएका बर्दिया ठाकुरबाबा ८ सुतैया गाउँकी जमुनाका श्रीमान अमरबहादुरको अवस्था पनि अझै अज्ञात छ । ‘कि त आफ्नो मान्छे देख्न पाउनु पर्यो, कि त काजकिरिया गर्न पाउनु पर्यो’ जमुनाले भावुक हुँदै भन्नुभयो ।

साझा व्यथा

जयन्ती, जानकी, जमुना र इन्द्रानी जस्ता सास र लासको आशमा बस्ने पीडितहरु धेरै छन् । बेपत्ता पारिएका मानिसका आफन्त र परिवारमा काजकिरिया गर्न नपाउँदाको अन्योल त छँदैछ, अर्कातिर सामाजिक कलह पनि निम्त्याएको छ । ‘आफन्त बेपत्ता भएको पीडा त छँदैछ, बेपत्ता पारिएका श्रीमान र आफन्तको खोजीमा समाजबाट अनेक भनाइ खानु परेको छ । बेपत्ता भएका व्यक्तिका श्रीमतीलाई आफ्नै परिवार र छरछिमेकीले पनि जे पायो त्यही भन्न र नचाहिँदा कुरा काट्न थालेका छन्’ जमुनाले भन्नुभयो ।

सशस्त्र द्वन्द्वको बेला देशका धेरै ठाउँबाट हजारौँ नागरिक मारिए, धेरै बेपत्ता भए । द्वन्द्वका कारण धेरैको अङ्गभङ्ग भयो । १० वर्षसम्म चलेको तत्कालीन माओवादीको सशस्त्र विद्रोहका बेला राज्य पक्ष र विद्रोही पक्षबाट १ हजार ३०० भन्दा धेरै नागरिक बेपत्ता पारिए । सबैभन्दा बढी नागरिक बेपत्ता भएको जिल्ला बर्दिया हो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्क अनुसार २०५२ साल फागुनदेखि २०६३ सम्ममा बर्दियामा २७६ जना नागरिक बेपत्ता भए । आफ्ना परिवारका सदस्य बेपत्ता हुँदाको पीडा मात्र होइन, बेपत्ताको परिवारमा सामाजिक, आर्थिक र मानसिक समस्या थपिँदै गएको छ । बेपत्ताहरुको अवस्था सार्वजनिक नगरेर सरकारले आफूहरुलाई झनै पीडा थपेको पीडितहरुको आरोप छ । बेपत्ता पारिएका व्यक्तिहरुलाई राज्यले शहीद घोषणा गरिदिए आफूहरु सामाजिक तथा मानसिक तनावबाट मुक्त हुने उनीहरु बताउँछन् ।

इन्सेक बर्दियाका प्रतिनिधि मानबहादुर चौधरी बेपत्ता परिवारमा हुर्कंदै गरेका केटाकेटीले भोग्नुपरेको समस्याबारे भन्नुहुन्छ ‘साथीहरुसँग रहँदा आफ्नो अभिभावक छैन भन्ने अनुभूति, विद्यालयमा आवश्यक कुराहरु नहुँदाको दुःख र बेपत्ता पारिएका अभिभावकको सम्झनाले उनीहरुमा अनेक मनोवैज्ञानिक असर देखिएका छन् ।’ बालबालिका मात्र हैन, बेपत्ता परिवारका पीडित सदस्यहरु र आफन्तमा परेको मनोवैज्ञानिक असरबारे आजसम्म कसैले चासो राखेको देखिँदैन । सशस्त्र युद्ध अन्त भएपछि सबैभन्दा बेवास्ता गरिएका श्रेणीमा पर्छन्, बेपत्ताका परिवार अहिले पनि ।

‘द्वन्द्वका बेला पीडा भोगेका, ज्यान गुमाएका तथा बेपत्ता पारिएका परिवारमा पर्ने मानसिक र भौतिक असरलाई कम गर्न भनेर सरकारले त्यतिबेला केन्द्रमा शान्ति तथा पुन:निर्माण मन्त्रालय बनाएर जिल्ला जिल्लामा शान्ति समिति गठन गर्यो । तर, समितिको काम सरकारले पठाएको राहत बाँड्ने काममा मात्रै सीमित रह्यो’ ईन्सेकका मानबहादुर चौधरीले भन्नुभयो ।

बेपत्ता पारिएका व्यक्तिका श्रीमती र छोराछोरीलाई सरकारले कुनै सीप तथा आयआर्जनमुलक तालिम, रोजगारी, छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययन खर्च, गाँसबास, कपासका लागि महिनैपिच्छे राहतको प्याकेज दिनुपर्ने अधिकारकर्मीहरुको माग छ । सरकारले बेपत्ताको अवस्था सार्वजनिक गरी उनीहरूले परिवारबाट पाउने परम्परागत तथा सांस्कृतिक अधिकार दिनुपर्छ ।

बेपत्ताहरुको पीडा कम नहुँदासम्म शान्ति प्रक्रियाले पूर्णता पाउन सक्दैन भन्ने कुरो बुझेर सरकारले काम गर्न सकेमा मात्रै पनि परिवारले न्यायको अनुभूति गर्न पाउँथे ।

Loading...

Thakurbaba Municipality