बर्दिया : शुक्रबार राती देखि परेको अविरल वर्षाका कारण कर्णाली नदिमा आएको बाढिले हुलाकी सडकखण्ड अन्तरगत पर्ने बर्दियाको राजापुर नगरपालिका र कैलालीको टिकापुर नगरपालिकाको सिमाना सत्ती पुल नजिक बनाइएको कर्णाली नदिको तटबन्धन भत्किने अवस्थामा पुगेको छ ।
कर्णाली नदिको सत्ती पुल भत्किने अवस्थामा पुगेकोले तत्काल तटबन्धनका लागि राजापुर नगरपालिकाले पहिले सडक डिभिजन त्यसपछि हुलाकी सडकलाई अनुरोध गरिएको भएपनि काम नभएपछि गाउँमा बाढि पस्न नदिन सयौं स्थानीयबासिन्दाहरु अस्थायी तटबन्धमा जुटेका राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो ।
राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अगुवाईमा छोटो प्रक्रियाबाट ठेक्का गरि त्यस ठाउँमा (बोल्डर) ठुला ढुंगा सहितको तटबन्धन गर्ने गरि प्रक्रिया अघि बढेकोमा हालसम्म पनि हुलाकी सडकको सम्बन्धित निर्माण व्यवसायीको बेवास्ताका कारण सत्ती पुल भत्किने अवस्थामा पुगेको जनाइको छ ।
शुक्रबार राती देखि परेको अविरल वर्षाका कारण क्षती हुन गएको तटबन्धनलाई नगर प्रमुख दिपेश थारुको अगुवाइमा शनिबार दिउँसो देखि राजापुर नगरपालिकाका झन्डै ५ सय जना स्थानीय बासिन्दाको उपस्थितिमा अस्थायी बाँध बाध्ने काम सुरु भैरहेको छ । समयमै काम नगरेको कारण राजापुरका नगर प्रमुख थारुले सम्बन्धित निर्माण व्यवसायीलाई कारवाही हुनुपर्ने बताउनुभयो । तत्काल कुनै अप्रिय घटना घटेमा सम्बन्धित कार्यालय र निर्माण कम्पनी जबाफदेहि हुनुपर्ने बताउँदै नगर प्रमुख थारुले आक्रोश ब्यक्त गर्नुभयो ।
पुल नजिकैको बाँध फुट्न गएमा राजापुर नगरपालिकाका वडा नम्बर ४, ७ र ८ का हजारौं घरघुरी प्रभावित हुने देखिन्छ । अहिले सत्ती पुल नजिक स्थानीय बासिन्दाले स्वतफुर्त रूपमा अस्थायी बाँध निर्माणका लागि जनश्रमदान गरिरहेका छन् नगर प्रमुख थारुले भन्नुभयो । अबिरल वर्षाका कारण राजापुर नगरपालिकाका ९ वडाका ६४५ बढी घरघुरी प्रभावित भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।
यस्तै वडा नम्बर १ र ७ का सेन्टरमा बसेका २४० घरधुरीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले तयारी खाना बितरण गरेको जिल्ला सदस्य महेशचन्द्र गौतमले जानाकारी दिनुभयो । अहिले नदिमा पानीको सतह कम हुँदै गएको जनाइए पनि कटानको जोखिम बढेको छ ।