भुरीगाउँ, बर्दिया : राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बि. उप्रेतीले सहकारीको माध्ययमबाट आर्थिक सशक्तीकरण हाँसील गर्न सकिने बताउनु भएको छ । भदौ ३० गते ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रिय कार्यालय रहेको सिको बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उप्रेतीले ठाकुरबाबा नगरपालिका सहकारीको नमूना पालिका भएकाले गरीबि न्यूनिकरण, सामाजिक सद्भाव र विकास कायम गरि देशको आर्थिक विकास गर्न, रोजगारि सिर्जना गर्न, स–साना पूँजिहरुलाई एकिकृत गरि सहकारी अभियानमा अग्रणी स्थान हासिल गर्न तथा सहकारी संस्थालाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
लक्ष्य, भावना र उद्देश्यहरु एकै भएका सहकारीहरु पछिल्लो समय एकिकरणमा लाग्दा सहकारीको गुणस्तर र दिगो विकासमा थप टेवा पुगेको बताउँदै सहकारीको वित्तिय सुचकांकहरुमा उल्लेख्य बृद्धि भएको र सहज तथा सरल ढंगबाट सदस्य केन्द्रित सेवा सुविधा प्रदान गर्न बिभिन्न सहकारीहरुले महत्वपुर्ण भुमिका खेल्दै आईरहेको सिको बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष दामोदर अधिकारीले उल्लेख गर्नुभयो ।
सिको साकोसका अध्यक्ष अधिकारीले जनतालाई घर दैलोमै सेवा प्रदान गर्ने र बचतका माध्ययमबाट खुसी र समृद्ध बनाउने जिम्मा अब सहकारीको भएकाले समान उद्देश्य भएका सानासाना सहकारीहरुलाई एकिकरण गरेर बैंकको विकल्पको रुपमा स्थापित गर्ने अभियानमा सहयोग गर्न सम्पूर्णलाई आग्रह गर्दै सुशासनमा प्रतिवद्ध रहेर सहकारीको गुणस्तर खस्कन नदिने गरि सबै सहकारीसंग सहकार्य गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
सिको साकोसको ५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकामा उत्कृष्ठ सहकारी सस्थाहरु रहेकाले स्थानीयको जीवनस्तर उकास्नका लागि कृषिलाई सहकारीसंग जोडेर अर्ग्यानिक उत्पादनमा जोड दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो । नगरप्रमुख लम्सालले दिगो विकासका लक्ष्यहरु हाँसिल गर्नका लागि संस्थाको नीति, कार्यक्रम र बजेटमा उत्पादनमुलक क्षेत्रलाई प्रबिधि अवलम्बन गर्दै सदस्यहरुलाई केन्द्रित गर्ने गरि संस्थाको कारोवार विस्तार गर्न आग्रह गर्नुभयो ।
साधारणसभा कार्यक्रममा साकोसले विभिन्न कार्यमा उत्कृष्ठ हुन सफल क्लबहरु र उत्कृष्ठ कर्मचारीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ठ अतिथी र अतिथीहरुलाई मायाको चिनो वितरण गरेको सिको साकोसका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिनुभयो । जिल्लाको ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका तथा गेरुवा गाउँपालिकामा सेवा केन्द्र रहेको साकोसका अहिले १० हजार ६०२ जना शेयर सदस्यहरु रहेको व्यवस्थापक पौडेलले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रिय कार्यालय रहेको सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिगत केहि वर्ष देखि निरन्तररुपमा प्रोबेसन ब्राण्ड प्राप्त गर्दै आएको छ भने एक्सेस ब्राण्ड संगै लुम्बिनी प्रदेशको उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार र राष्ट्रिय स्तरको सम्मान समेत प्राप्त गरेको छ ।
नेपालकै उत्कृष्ठ सहकारीका रुपमा परिचित भएको साकोसले सहकारी सिद्धान्त, मुल्य मान्यता, ऐन नियमको परिपालना गर्दै समुदायमा सहकारी जागरण मार्फत् स्वऐच्छिक एवम् गुणात्मक आवद्धताका लागि सदस्य विस्तार क्रियाकलाप संचालन गरिने, सदस्यहरु बिच वित्तिय शिक्षा प्रदान गरि पारिवारिक योजना, बचतको सदुपयोग, आयवृद्धि र सदस्यलाई सिप एवम् सहुलियत ब्याजदरमा विमा सहितको ऋण प्रदान गरिने जनाएको छ ।
सिको साकोसले संस्थागत अभिलेख सुरक्षाका लागि यस वर्ष देखि अग्नी सुरक्षित दराजको व्यवस्था गर्ने, संस्थामा युवाको सहभागिता अभिवृद्धि गर्नका लागि स्वरोजगार युथ क्लब गठन गरी वित्तिय शिक्षा र सिपमुलक तालिम संचालन गर्ने, समुदाय विकास, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण कार्यक्रम संचालन गर्ने, उत्कृष्ठ बाल, नियमित बचत, उद्यमी, ऋणी सम्मान तथा पुरस्कार नीति यथावत राख्ने तथा वार्षिक रुपमा कम्तिमा २५ प्रतिशत सदस्यहरु सहभागि हुने गरी सहकारी शिक्षा र विस्तारित मञ्च आयोजना गरी सदस्यको निर्णायक भुमिकामा अभिवृद्धि गर्ने कार्यक्रम तय गरिएको संस्थाले जनाएको छ । साधारणसभामा संस्थाका महासचिव प्रकाश कुमार आचार्यले चालु आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।
साकोसकाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको ५ औँ वार्षिक साधारणसभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बि. उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो भने नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, नगर उपप्रमुख बिना कुमारी भट्टराईको बिशिष्ट आतिथ्यता रहेको थियो ।
साधारणसभामा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली, जिल्ला बचत तथा ऋण सहकारी संघ बर्दियाका अध्यक्ष नवराज न्यौपाने, राष्ट्रिय सहकारी बैंक भुरिगाउँका शाखा प्रमुख किरण खत्री, संचालक समितिका पदाधिकारी तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।