onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

एक वर्षमा बढे २६ कृष्णसार

Sambad ADD long

बर्दिया : एक वर्षयता २६ वटा कृष्णसार बढेका छन् । बर्दियाको गुलरिया नगरपालिका-२, खैरापुर क्षेत्रमा यो वन्यजन्तु फैलिएर रहेको छ । एक वर्ष अघिसम्म भाले, पोथी र बच्चा सहित १६४ वटा बच्चा रहेका थिए । सातायता नियमित हुने गणनामा भाले ४२, पोथी ११४ र बच्चा २६ वटा गरी १८२ पुगेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनय झाले बताउनुभयो ।

‘विगतमा संरक्षण क्षेत्रमा चितुवा, हुँडार र भुस्याहा कुकुरको आक्रमणले दर्जनौं कृष्णसार मारिएका थिए,’ उहाँले भन्नुभयो, ‘अहिले नियमित गस्तीसंगै चितुवा, भुस्याहा कुकुर र हुँडार लखेट्न थालेपछि संख्या बढ्दै गएको हो ।’ एक वर्षयता चितुवा, हुँडार, भुस्याहा कुकुर र प्राकृतिक कारणबाट ३७ वटा कृष्णसारको मृत्यु भएको छ । सो अवधिमा चितुवाबाट ८, भुस्याहा कुकुरबाट १२ र प्राकृतिक कारणबाट १७ वटा कृष्णसार मारिएका छन् ।

दुई वर्षअघि संरक्षण क्षेत्रमा चितुवा, हुँडार, भुस्याहा कुकुरको आक्रमणमा मारिन थालेपछि उच्च सुरक्षा अपनाएका कारण यसको संख्या अहिले बढ्दै गएको संरक्षण अधिकृत झाले दाबी गर्नुभयो । दुई वर्षअघि ८५ वटा कृष्णसार मारिएका छन् । तीमध्ये चितुवाबाट ६५ वटा कृष्णसारलाई आक्रमण गरी मारेको थियो । सोही अवधिमा स्याल, हुडार र कालगतिबाट २० वटा मारिएका छन् । संरक्षण क्षेत्र संग जोडिएको उत्तर-पूर्वतर्फ रहेको सामुदायिक वनबाट निस्कने चितुवाले कृष्णसारले लखटेर मार्ने गरेको छ । तीन वर्ष अघिसम्म करिब तीन सयसम्म पुगेको थियो ।

संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवले कृष्णसार जोगाउन संरक्षित क्षेत्रमा अनधिकृत रुपमा बसेको बस्ती हटाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले मंसिर ४ गते निर्वाचनपछि यो प्रक्रिया अघि बढाउने बताउनुभयो । चरिचरण क्षेत्रमा पर्याप्त पानी र दुबो घाँस नहुनुले पनि वन फाँटा क्षेत्रमा चरिचरण गर्दा चितुवाले आक्रमण गर्न थालेको छ । सामान्यता वर्षमा २ वटा बच्चा जन्माउने यो वन्यजन्तु बासस्थान अतिक्रमणसँगै हुँडार र भुस्याहा कुकुरको आक्रमणको सिकार बन्दै गएको छ । चितुवा र हुँडारबाट बचाउन सके एक वर्षमा कृष्णसारको संख्या तीन सय बढी पुग्ने अनुमान संरक्षणकर्मीको छ ।

७०८ बिघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३५० बिघा बढी जग्गा भूमिहिनका नाममा घर जग्गा भएकाले समेत अतिक्रमण गरेको कृष्णसार संरक्षण समितिले जनाएको छ । यस क्षेत्रमा २०२६ साल देखि ५१ घर ऐलानी जग्गामा बस्दै आएका छन् । १४१ बिघा ऐलानी जग्गामध्ये ३३ हेक्टरमा ५१ घर परिवार बसेका छन् ।

पर्यटकलाई आर्कषण गर्ने सम्भावना बोकेको संरक्षित क्षेत्रमा कतैबाट पहल हुन नसकेको स्थानीय बताउँछन् । चितुवाले कृष्णसार मात्रै नभई स्थानीयले पालेका बाख्रा, गाई, गोरु समेत खाने गरेको छ । सरकारले २०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । साभार : कमल पन्थी/कान्तिपुर

Leave A Reply

Your email address will not be published.