onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

रेल गुड्ने मार्गमा बाघको बास

Sambad ADD long

बर्दिया : ठाकुरबाबा नगरपालिका-८, मढेला स्थित जगदम्बा उच्च माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक दिनेशचन्द्र गौतम बाल्यकालमा बर्दियाको रेल्वे लिकमा खेल्ने गर्नुहुन्थ्यो । रेलका पुल र फलामका लिकमा खेलेर आफ्नो बाल्यकाल बितेको उहाँले सुनाउनुभयो । ‘अहिले ती काठ र फलामका लिक भेटिँदैनन्,’ उहाँले भन्नुभयो, ‘बाल्यकालमा हजुरबुबाले रेल गुडेको देखेको बताउनु हुन्थ्यो ।’ रेलको लिक भएको धेरैजसो ठाउँ अहिले घना जंगल र फाँट बनेको उहाँले बताउनुभयो ।

अहिले यहाँ रेलको लिक बिछ्याइएको निसाना बाहेक अरू केही भेटिंदैन । १ सय १० वर्ष अघिसम्म भारतीय सीमा हुँदै बर्दिया राष्ट्रिय निकुञ्जको खयरभट्टीसम्म रेल गुडेको थियो । नेपालकै पहिलो रेल गुड्ने बर्दियाका ढोढरी, बगनाहा, शिवपुर र नेउलापुरमा अहिले बाघ हिंड्ने बाटो बनेका छन् । सन् १९१० देखि १९२० सम्म पहिलो पटक नेपालमै बर्दियाबाट रेल गुडेको इतिहास छ । १० वर्ष सञ्चालन भएको रेल भारतको निशानगाढा नजिक रहेको टेघरा चौकी हुँदै बर्दियाको मधुवन, ढोढरी, गम्मका, तकिया, नेउलापुर, रानीपुर हुँदै खयरभट्टीसम्म चलेको इतिहासकार एवम् राजनीतिज्ञ दिनेश प्रसाद श्रेष्ठले बताउनुभयो । यहाँ गुड्ने रेल यात्रुवाहक नभई सामान ढुवानी गर्ने मालवाहक थियो ।

श्रेष्ठका अनुसार इस्ट इन्डिया कम्पनी सरकारको फरेस्ट्री विभागका संरक्षणकर्मी जेभी कोलिएरले आफैंले ठेक्का लिई यहाँ रेल चलाएको देखिन्छ । आज पनि बुढापाकाले उक्त रेल्वे लिकलाई कोलिएरकै नामले चिन्ने गरेका छन् । स्थानीय ६४ वर्षीया चिन्की थारुले आफूले नदेखे पनि बुढापाकाबाट रेल चलेको सुनेको बताउनु भयो । ठाकुरबाबा नगरपालिका-५, तकियाका ६५ वर्षीय थपुवा थारुले आफ्ना बाजेले यस ठाउँबाट रेल गुडेको सुनाउने गरेको बताउनु भयो । ‘बाजे बितेको पनि वर्षौं भयो,’ उहाँले भन्नुभयो, ‘रेल गुडेको ठाउँमा अहिले बाघ हिँड्ने गर्छन् ।’ यहाँ साँझ पर्नासाथ बाघ आउने गरेको स्थानीय बताउँछन् । सामुदायिक वन र घना जंगलबीच रेलको लिक छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्गसंग जोडिएका कारण यहाँ वन्यजन्तु आउजाउ बढी छ । स्थानीय ७० वर्षीय कालीराम थारुले गाउँसंग जोडिएको रेलको बाटोमा बाघ आउजाउ गर्दा साँझ पर्नासाथ गाउँले डरले घरभित्र बस्ने गरेको बताउनुभयो । ‘अहिले त फलामका लिकसमेत हराए,’ उहाँले भन्नुभयो, ‘चार दशक अघिसम्म लिक र पटरा थिए ।’ भारतमा नेपालको काठ ढुवानी गर्ने उद्देश्यले यहाँ रेल विस्तार भएको यहाँका बुढापाका बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको यस क्षेत्रमा यात्रुवाहक रेल सञ्चालन गर्न सके भारतीय पर्यटक भित्र्याउन सकिने ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो । साभार : कमल पन्थी/कान्तिपुर

Leave A Reply

Your email address will not be published.