बालदिवसमा ‘विहेवारी २० वर्ष पारी’को नारा
भुरीगाउँ, बर्दिया : ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा भदाै २९ गते बुधबार ठाकुरबाबा नगरपालिका–२, डुम्रेनीको जनचाहना आधारभूत विद्यालयमा बाल अधिकार, बालविवाह न्यूनीकरण तथा डेंगी रोग न्यूनीकरणका विषयमा जनचेतना मुलक र्याली तथा जनचेतना मुलक गीत, कविता प्रस्तुती सहितको कार्यक्रम गरी बाल दिवस मनाइएको छ ।
कार्यक्रममा “बालदिवस सफल पारौं”, “विहेवारी २० वर्ष पारी”, “हाम्रो गाउँ, हाम्रो टोल, सफा गरौं”, “लामखुट्टे नियन्त्रण गरौं, डेंगी रोगबाट बचौं”, “बालवालिका हाम्रा भविष्य हुन्, उनीहरुलाई एक्लै नछोडौं” जस्ता नारा सहित प्लेकार्ड बोकेर डुम्रेनी गाउँ परिक्रमा गरिएको विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद नेपालले जनकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद रतगैयाँ, शिक्षक अभिभावक संघका अध्यक्ष नगेन्द्र बहादुर शाही, प्रधानाध्यापक यज्ञ प्रसाद नेपाल, सहायक प्रधानाध्यापक लक्ष्मी पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।