भुरीगाउँ, बर्दिया : पछिल्लो समय महामारीको रुपमा फैलिरहेको डेंगी रोगको रोकथामका लागि ठाकुरबाबा नगरपालिकामा सचेतना सहित सरसफाई कार्यक्रम संचालन गरिएको छ । भदौ २८ गते मंगलबार ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकाको मुख्य बजार भुरीगाउँमा सरसफाई गर्दै डेंगी रोग सार्ने किटाणुको लार्भा नष्ट गर्ने अभियानको सुभारम्भ गर्नुभएको हो ।
बजार क्षेत्रभित्र रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेको टाएर, ड्रमहरुमा फिनायल, सोडा लगायतका बिषादी छर्केर डेंगी रोग सार्ने किटाणुको लार्भा नष्ट गर्ने कार्य गरिएको नगरपालिकाले जनाएको छ । रोग नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय अभियान अनुरूप यसको रोकथामका लागि सम्पूर्ण वडाबासीलाई जागरुक बनाउने उद्देश्यले वडाका विभिन्न टोलहरुमा सूचनामूलक जानकारी उपलब्ध गराउने कार्यक्रम समेत गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाले सम्पुर्ण नगरवासीलाई आफ्नो घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्न तथा घर आँगन सफासुग्घर राख्न आग्रह गरेको छ । रोग लाग्न दिनु भन्दा रोग लान्न नदिनु नै उत्तम उपाय भएकाले नगरवासी सम्पूर्णलाई समय मै सचेत रहन ठाकुरबाबा नगरपालिका बर्दियाद्वारा नगरबासीहरुमा अनुरोध गरिएको छ ।