बर्दियामा स्वास्थ्य आपतकालिन प्रतिकार्य कार्यक्रमको समिक्षा
डेंगी नियन्त्रण गर्न सबै गम्भिर हुनुपर्नेमा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीको जोड
बर्दिया : स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाको स्वास्थ्य आपतकालिन प्रतिकार्य कार्यक्रमको समिक्षा गरिएको छ । भदौ २४ गते स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिती, बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टको प्रमुख आतिथ्यतामा स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाको स्वास्थ्य आपतकालिन प्रतिकार्य कार्यक्रमको समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रणालीको परिचय तथा हाल सञ्चालित क्रियाकलापका बारेमा मदनराज भट्टले प्रस्तुतिकरण गर्नुभएको थियो भने स्वास्थ्यका लागि सक्षम प्रणाली आपतकालिन स्वास्थ्य प्रतिकार्य कार्यक्रमको समिक्षात्मक प्रस्तुतिकरण तथा छलफल ललिता चौधरीले गर्नुभएको थियो । स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीले बर्दिया डेंगी रोगको उच्च जोखिममा देखिएकाले रोकथाम तथा नियन्त्रणका विषयमा सम्पूर्ण सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । डेंगी रोगबाट जोगिन सरसफाई र जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले बताउनु भयो ।
कार्यक्रममा डेंगी रोगको अवस्था, लक्षण तथा जोगिने उपाय र नियन्त्रणका लागि भएका कामहरुको बारेमा जानकारी दिनुका साथै, डेंगीको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नुपर्ने गिरीले बताउनु भयो । यस्तै डेंगी रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसहरुलाई सचेतना जगाउन अभियान सुरु गरिएको समेत बताइएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको आयोजना तथा यु.एस.ए.आइ.डी.को साझेदारीमा सम्पन्न भएको कार्यक्रममा बर्दियाका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, हरेक स्वास्थ्य चौकिका इन्चार्ज लगायतको उपस्थिति रहेको थियो ।