
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले सेवाग्राहीबाट गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ । १९ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लम्सालले जनताको सेवालाई सर्वोपरी मानेर स्थानीय सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कर्मचारीलाई अनुरोध गर्नु भएको हो ।
काम गर्ने शिलसिलामा कुनै कुरामा असहज भए आफु सहित नगरपालिकाका जनप्रतिनीधिसंग खुलेर कुरा राख्न उहाँले कर्मचारीहरुलाई आग्रह पनि गर्नुभयो । उत्कृष्ठ काम गर्ने कर्मचारीलाई सम्मान गर्ने र गलत काम गर्ने कर्मचारीलाई डण्डीत गर्न नगरपालिका पछि नपर्ने जानकारी दिँदै राष्ट्रसेवक कर्मचारीहरुलाई आफुलाई दिएको जिम्मेवारी समयमै सम्पन्न गर्दै उत्कृष्ठ राष्ट्रसेवक बन्न शुभकामना दिनुभयो । दिवसकै अवसरमा ठाकुरबाबा नगरपालिकाले विभिन्न संघ संस्थाको सहकार्यमा सरसफाई गरेको छ ।
१९ औँ निजामती सेवा दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाका तीन जना कर्मचारीहरुलाई उत्कृष्ठ कर्मचारी सम्मानबाट पुरस्कृत गरिएको छ । ठाकुरबाबा नगरपालिका योजना तथा प्रशासन शाखामा कार्यरत कम्प्युटर अपरेटर राजन श्रेष्ठ, कृषि सेवा केन्द्र बगनाहाका प्रमुख विरेन्द्र रावत र वडा नम्बर ५ की वडा सचिव रुविना चौधरीलाई सम्मान गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले कर्मचारीको रचनात्मक कार्यमा मनोबल बढाउन कर्मचारी स्तरीय फुटबल प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामहरी रिजालले बताउनु भयो ।
“व्यवसायिक र सृजनशिल प्रशासन : विकास समृद्धी र सुशासन” भन्ने मुल नाराका साथ भदौ २२ गते बुधबार १९ औँ निजामती सेवा दिवस मनाइएको छ । कार्यक्रममा नगर उपप्रमुख विना कुमारी भट्टराईको विशिष्ठ आतिथ्यता रहेको थियो ।