भुरीगाउँ, बर्दिया : नेपाल निजामती सेवा दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकामा कार्यरत कर्मचारीहरुले भुरीगाउँ बजारक्षेत्र सरसफाई गरेका छन् । ठाकुरबाबा नगरपालिकामा कार्यरत कर्मचारीहरुको आयोजनामा भदौ २२ गते नगरपालिकाको कार्यालय सैनवार देखि भुरीगाउँ बजारक्षेत्र सम्म सरसफाई गरिएको हो ।
ठाकुरबाबा नगरपालिकामा कार्यरत कर्मचारी, इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँ तथा उद्योग वाणिज्य संघ र स्थानीयहरुको सहभागितामा सरसफाई गरिएको ठाकुरबाबा नगरपालिकाका नायव पशु सेवा प्राविधिक जीवन कंडेलले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिकाले हरेक हप्ताको आइतबार बजारक्षेत्रको फोहोर संकलन गरे पनि पसल नजिकैको फोहोर मात्र संकलन गर्ने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । पसल अगाडिको मात्र फोहोर संकलन हुने र बजार आसपासमा फोहोर थुप्रिँदा भुरीगाउँ बजार क्षेत्र दुर्गन्धीत बन्दै गएकोले बजार क्षेत्र सरसफाई गरिएको जनाईएको छ ।
“व्यवसायिक र सिर्जनशिल प्रसाशन, विकास सम्बृद्दी र सुशासन” भन्ने नारालाई आत्मसाथ गर्दै ठाकुरबाबालाई सुन्दर नगर बनाउन आफुहरु सरसफाई कार्यक्रममा लागेको नायव पशु सेवा प्राविधिक कंडेलले बताउनुभयो ।
यसैबिच ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा सचिब केशव प्रसाद खनालले हप्तामा नै एकचोटि सरसफाई कार्यक्रम गरेको भए राम्रो हुने भन्ने स्थानीयको जनगुनासोलाई मध्यनजर गर्दै पालैपालो प्रहरी, युवा क्लबहरु, व्यापार संघ, राजनीतिक पार्टि र कर्मचारीहरुको समन्वयमा पालैपालो सरसफाई गर्दै आएको बताउनु भयो ।