भुरीगाउँ, बर्दिया : राजापुर नगरपालिका वडा नम्बर २ बालाबजारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । भदौ १९ गते आइतबार अस्थायी प्रहरी पोष्ट बालाबजार नयाँगाउँको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
राजापुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षता तथा संघीय प्रतिनिधि सभा सदस्य किशोर सिंह राठोरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।
गाउँमा प्रहरी चौकी नहुँदा लागूऔषध दुब्र्यसनीसंगै अपराधिक क्रियाकलाप बढेको स्थानीयको गुनासो प्राप्त भएकाले बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्टको स्थापनाले शान्ती, सुरक्षा, अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानमा समेत थप मद्दत पुग्ने प्रहरी प्रमुख प्रहरी उपरीक्षक शाहीले विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश चौधरी, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह के.सी., बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाही, विभिन्न राजनीतिक दलका प्रतिनिधी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।