onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सीमावर्ती भारतीय बजारबाट आयातमा कडाई गर्न ब्यवसायीहरुको माग

Sambad ADD long

गुलरिया, बर्दिया : सीमावर्ती भारतीय बजारक्षेत्रबाट निर्वाध रुपमा नेपाल तर्फ भित्र्याईने सरसामानको आयातमा कडाई गर्न माग गर्दै उद्योग बाणिज्य संघ बर्दियाले भदौ १७ गते जिल्ला प्रशासन कार्यालय बर्दियालाई ज्ञापन पत्र बुझाएको छ । जिल्लाका ८ वटै उद्योग बाणिज्य संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयलाई आयात रोकी ब्यापारीको समस्या समाधान गर्न माग गर्दै विज्ञप्ती बुझाएका हुन् ।

जिल्लाको सिमासंग जोडीएका भारतीय लौकाही बजार, चितलहवा, बठनिया तथा तिकुनिया बजारमा दैनिक उपभोग्य सामाग्री खरिद गर्न नेपालीहरु जाने गरेकोले नेपाली बजार सुक्दै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बर्दियाका पालिकाहरुका बजारमा तीज, दशैँ, तिहार लगायतका चाडपर्वमा समेत ब्यापार ब्यवसाय ठप्प हुने गरी भारतिय बजारमा किनमेल हुन थालेपछि जिल्लाका ब्यापारी तथा ब्यवसायीहरु मर्कामा परेको उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष देबेन्द्र पाण्डेले बताउनु भयो ।

सीमावर्ती भारतीय बजारका कारण नेपालको राजस्व छली भई चुहावट भएकोले छोटी भन्सार कार्यालय स्थापना गर्नुपर्ने ब्यवसायीहरुले माग गरेका छन् । दीर्घकालिन समस्याको समाधान गर्न योजना तयार गरी अबैध आयातलाई निरुत्साहन गर्दै समिनामा कडाई र भन्सार कार्यालय अविलम्ब स्थापना गर्न ज्ञापनपत्रमा माग गरिएको छ । मागहरु अबिलम्ब पुरा नभए जिल्ला स्थित सम्पूर्ण उद्योग बाणिज्यहरुको पहलमा बजार बन्द गरी क्रमागत आन्दोलनमा जान बाध्य हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले ब्यापारीहरुको समस्या समाधान गर्न आफूले ठोस कदम चाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जिल्लाका सुरक्षाकर्मीहरुलाई जानकारी गराउँदै भन्सार कार्यालयसंग परामर्श थालिने उहाँले बताउनु भयो । उद्योग बाणिज्य संघ गुलरिया, ठाकुरबाबा, बढैयाताल, मधुवन, राजापुर, बाँसगढी, बारबर्दिया, गेरुवाका अध्यक्ष तथा प्रतिनिधीहरुको संयुक्त हस्ताक्षर तथा उपस्थितीमा ज्ञापन पत्र वुझाईएको हो ।

Leave A Reply

Your email address will not be published.