onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा अन्तिम गर्भजाँच गराउने महिलाको संख्यामा २० प्रतिशतले कमी

Sambad ADD long

गुलरिया, बर्दिया : बर्दिया जिल्लामा अन्तिम पटक गर्भ जाँच गराउन आउने महिलाको सख्यामा कमी देखिएको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक गर्भवती जाँच गर्ने भन्दा अन्तिम पटक गर्भ जाँच गर्नेको संख्या कम देखिएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक ६ हजार ९६५ जना गर्भवती महिलाले जाँच गराएका थिए । अन्तिम पटक ५ हजार ५८४ जना गर्भवती महिलाले जाँच गराएका थिए । पहिलो पटक भन्दा अन्तिम पटक स्वास्थ्य संस्थामा जाँच गराउन आउनेको संख्या १ हजार ३८४ ले कम रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक ७ हजार जना गर्भवती महिलाले जाँच गराएका थिए । अन्तिम पटक भने ५ हजार ९८४ जना गर्भवतीहरुले जाँच गराएका थिए । पहिलो पटक भन्दा अन्तिम पटक गर्भ जाँच नगर्नेको संख्या १ हजार १६ जनाले कम हो । आर्थिक वर्ष २०७६/७७ मा पहिलो पटक ७ हजार ८५६ जना गर्भवतीहरुले जाँच गराएका थिए । अन्तिम पटक ६ हजार ११६ जना गर्भवती महिलाले जाँच गराएका थिए । पहिलो पटक भन्दा अन्तिम पटक गर्भ जाँच नगर्नेको संख्या १ हजार ७४० जनाले कम हो ।

महिला गर्भवती भएपछि नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार चार पटक अनिर्वाय स्वास्थ्य जाँच गर्नु पर्ने हुन्छ । पहिला पटक चौँथो महिना, दोस्रो पटक छैठौँ महिना, तेस्रो पटक आठौँ महिना र चौथो पटक नवौँ महिनामा पटक गर्भ जाँच गराउनु पर्ने हुन्छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा रहि औषधी र स्वास्थ्य सेवा लिनु पर्ने स्वास्थ्य मापदण्ड भित्र पर्छ । गर्भवती महिलाको गर्भ अन्तिम जाँचमा घटबढको बिषयमा बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुभाष पाण्डेले पहिलो पटक गर्भ जाँच गर्ने गर्भवती मध्ये केही गर्भवती सिधै चिकित्सकको चेकजाँच गर्ने गरेको पाइन्छ र केही गर्भवती नौ महिना नपुग्दै सुत्केरी हुदाँ पनि तथ्याकंमा फरक पर्ने गरेको बताउनु भयो ।

पहिलो पटक गर्भवती जाँच गरेपछि केहीले कानुन विपरित असुरक्षित गर्भपतन गर्नु, गर्भ खेर जानु , गर्भावस्थामा शिशु अपाङ् भएमा र आमा असुरक्षित भएमा गरिने अप्रेसन लगायतका कारण पनि पहिलो पटक (चौथो महिना) र अन्तिम पटक (नौं महिना)मा गर्भवती जाँच गर्न आउने संख्यामा फरक पर्ने गरेको स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनु भयो ।

स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले नियमित खोप लगाउने, आइरन चक्की खाने, जुकाको औषधी खाने, पोषिलो खाना खाने र जाँच गर्नुपर्ने बताउनु भयो । गर्भवतीले नियमित जाँच नगर्दा कहिले काहीँ बच्चा जन्मदाँ तौल कम हुने र गर्भपतन हुने सम्भावना हुने गरेको बताउनु भयो । सूचना अधिकारी चौधरीले गर्भवती महिलाले नियमित गर्भ जाँच नगर्दा रक्तअल्पता हुने, हातखुट्टा सुनिने जस्ता समस्या आई पर्ने गरेको बताउनु भयो । यस्ता विषयको ज्ञान नहुदाँ गर्भवतीको ज्यान सक्ने जोखिम हुन्छ । गर्भ अवस्थामा आउने समस्याको न्यूनिकरण गर्न नियमित जाँच गर्नु पर्ने चौधरीले बताउनु भयो ।

बर्दिया अस्पतालको मातृ तथा नवशिशु स्वास्थ्य सेवा शाखाकी सिनियर अनमी सत्य रोकायले पहिलो पटक गर्भवती जाँच गर्न ढिलो गरी आउने र नियमित जाँच नगर्दा पनि फरक पर्ने गरेको बताउनु भयो । सिनियर अनमी रोकायले केही गर्भवतीहरुमा समयमा जाँच गर्नुपर्छ भन्ने चेतनाको कमी पाईएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.