भुरीगाउँ, बर्दिया : बढैयाताल गाउँपालिकाका करार कर्मचारीहरु पाँच बुँदे माग राख्दै भदौ १५ गते बुधबार देखि आन्दोलनमा उत्रिएका छन् । आफुहरुको करार सम्झौताको म्याद थप गर्नुपर्ने लगायतका माग राख्दै करार कर्मचारीहरुले गाउँपालिकाको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् ।
श्रम शोषण नगरी सरकारले तोके अनुसार पारिश्रमिकको व्यवस्था र करारका कर्मचारीहरुलाई रोजगारीको दीर्घकालीन व्यवस्था गर्नुपर्ने, करारका कर्मचारीलाई कामकाज गराउने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु गाउँपालिका अध्यक्ष समक्ष राखेको आन्दोलनको नेतृत्व गरेका विष्णु घिमिरेले बताउनुु भयो । आफुहरुको माग पुरा नभए सम्म गाउँपालिकाको प्रवेशद्वारमा लगाईएको ताला नखोलिने घिमिरेले बताउनु भयो ।
यस विषयमा पालिका अध्यक्ष हिमालय त्रिपाठीसंग बुझ्दा महालेखा परिक्षकले विगतमा राखिएका करारका कर्मचारीबाट बेरुजु देखाएकोले करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नगरेको बताउनुभयो । महालेखा परिक्षकले राख्न नमिल्ने बताएको र नियमसम्मत नभएकाले करारमा कार्यरत कर्मचारीको म्याद थप गर्न नसकिने अध्यक्ष त्रिपाठीले बताउनु भयो ।
आन्दोलनका कारण पालिकाको कार्यालय भित्र कर्मचारीहरु प्रवेश गर्न नपाउँदा कामकाज प्रभावित भएको छ । बढैयाताल गाउँपालिकाले साउन १ गते देखी करारमा कार्यरत ३८ जना कर्मचारीको म्याद थप नगरेको हो ।