onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

जिल्ला निर्वाचन कार्यालय बर्दियाले मतदाता नामावलीको त्रुटी सच्याउँदै

Sambad ADD long

भुरीगाउँ, बर्दिया : प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य चयनका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनको लागि बर्दियामा मतदाता नामावली अद्यावधिक कार्य शुरु गरिएको छ । मतदाता नामावली तयार पार्न दाबी विरोध सहित भदौको मसान्तसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्नेे गरी अद्यावधिक कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

मतादाता नामावली अद्यावधिक कार्यका लागि जिल्ला निर्वाचन कार्यालय बर्दियाले सार्वजनिक गरेको तालिका अनुसार भदौ १२ गते कार्यक्रमको सुचना संगै मतदाता नामावली प्रकाशन गरिने छ । भदौ १३ गते देखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन निवेदन दिन सकिनेछ । जस अन्तरगत कसैको झुठा विवरण दिई नामावली समावेश गरेको भए विरोधमा उजुरी दिन पाईने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने छ । मतदाता नामावलीमा नाम भएका तर मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताहरुको नाम मतदाता नामावलीबाट हटाउनको लागि सुचना दिन भदौ १३ गते देखी १६ गते सम्मको समय तोकिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर केसी कुँवरले बताउनु भयो ।

मतदाता नामावली अद्यावधिक भए पछि दोहोरो नाम संगसंगै त्रुटिहरु सच्चिने निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्य भदौ १९ गते सम्म संचालन हुनेछ । जिल्लामा ब्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलको प्रमुख सदस्य सहित जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहेको ५ सदस्यीय मतदाता नामावली ब्यवस्थापन समिति गठन भएको छ । बर्दियामा ३ लाख १७ हजार ३६१ मतदाताहरु छन् । अद्यावधिक पश्चात केही त्रुटिगत मतदाताको संख्या घट्ने अनुमान जिल्ला निर्वाचन कार्यालयले गरेको छ । त्यस्तै जिल्लामा १५३ मतदान स्थल र ३७१ मतदान केन्द्र रहेको निर्वाचन अधिकारी कुँवरले जानकारी दिनुभयो ।

अद्यावधिक कार्यक्रमका विषयमा जानकारी दिन आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर विष्टले मतदाता नामावलीमा मृत्यु भएका लगायत दोहोरो नामावली हटाउन राजनीतिक दलले मुख्य भुमिका खेल्नुपर्ने बताउनु भयो । नामावली संकलन कार्य सकिएको र अद्यावधिक कार्यमा निर्वाचन आयोगलाई दलको सहयोग अपरिहार्य रहेको प्रमुख विष्टले बताउनुभयो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले राजनीतिक दलहरुले कार्यकर्ताहरु परिचालन गरेर नाम कटाउने सच्चाउने कार्यमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । मतदाताहरुलाई निर्वाचनमा सहभागी गराउँदै सचेत पार्न दलको भुमिका महत्वपूर्ण रहने भएकाले त्यसतर्फ सचेत भइृ समयमै त्रुटी सच्चाउनका लागि सहयोग गर्न र त्रुटि सच्याउन जिल्ला निर्वाचन कार्यालय गुलरिया बर्दियामा सम्पर्क गर्न सबै मतदाताहरुलाई प्रमुख जिल्ला अधिकारी बास्तोलाले अनुरोध गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.