भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष अमिन थारुले कुनै पनि परियोजनाले तोकेर मात्र बालविवाह न्यूनिकरण गर्न नसकिने भएकाले अन्तरपुस्ता संवाद कार्यक्रमहरु चलाउन आवश्यक रहेको बताउनु भएको छ ।
ठाकुरबाबा नगरपालिकाको सहकार्य तथा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणिय बिशिष्टता समुह (बि ग्रुप) को साझेदारिमा संचालित बालविवाह न्यूनिकरण परियोजना अन्तरगत भदौ १२ गते आयोजित अन्तरपुस्ता संवाद कार्यक्रमका क्रममा सो कुरा बताउनुभएको हो ।
पछिल्लो समय समुदायमा बालविवाह, लैंगिक हिंसा, अन्धविश्वास, दुब्र्यवहार, सामाजिक विभेद, परम्परागत सोँच, छाउपडि प्रथा, तानासाहि शासन पद्धती जस्ता हानिकारक प्रथा न्यूनिकरणका लागि अन्तरपुस्ता संवादको आवश्यकता रहेको कार्यक्रमका सहभागिहरुले बताएका छन् । पुस्ता अन्तर हुँदै जानु र धेरै अभिभावकहरुले आफ्ना छोराछोरीलाई समय दिन नसक्नुले बुवाआमा र छोराछोरी बिच संवाद हुन नसकेकाले हानिकारक कुप्रथाहरु समाजमा कायमै रहेको कार्यक्रममा सहभागी मध्यकी एक रामरानी थारुले बताउनुभयो ।
समाजमा घटेका घटनाहरु लाई बाहिर ल्याउन तथा जरा गाडेर बसेको विकृतिलाई अन्त्य गर्न अन्तरपुस्ता संवादलाई निरन्तरता दिनुपर्ने बताइएको छ । परियोजनाको मुख्य उद्देश्य बालविवाहसंग सरोकार राख्ने किशोरकिशोरी, अभिभावक र अन्य सरोकारवाला पक्षहरुलाई जानकारी, शसक्तिकरण र सहकार्य गर्दै बालविवाह न्यूनिकरण गर्दै लैजाने रहेको समेत भेरी वातावरणिय बिशिष्टता समुह (बि ग्रुप) बर्दियाका सुपरभाईजर माया खड्काले जानकारी दिनुभयो ।