नारी एकता शक्ति केन्द्रद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
निराहार ब्रत नबस्न ठाकुरबाबा नगर उपप्रमुखको आग्रह
भुरीगाउँ, बर्दिया : हिन्दु धर्मालम्बी महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा भदौ ११ गते शनिबार नारी एकता शक्ति केन्द्रले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पन्न कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना कुमारी भट्टराईले तीज हिन्दु धर्म मान्ने महिलाहरूको विशिष्ट पर्व भएको र यसले सामाजिक विविधतायुक्त समाजमा छुट्टै महत्व राख्ने भएकाले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तीजले विशेष मद्दत पु¥याएकोे बताउनुभयो । उपप्रमुख भट्टराईले तीज आत्मियता र सद्भावको पर्व पनि भएकाले निराहार ब्रतका नाममा पानी समेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोजक संस्था नारी एकता शक्ति केन्द्रकी अध्यक्ष मेनका पोखरेलले तीजको अवसरमा महिलाहरूले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्यचार विरुद्ध गीतका माध्यमबाट विद्रोह गर्दै आएको स्मरण गर्नुभयो । केन्द्रकी अध्यक्ष मेनका पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नारी एकता शक्ति केन्द्रको भवन निर्माणका लागि जग्गादान गर्ने समाजसेवी अञ्जु भण्डारी र भवन निर्माणको लागि आर्थिक सहयोग गर्ने आजिवन सदस्यहरुलाई सम्मान गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।