भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपलिकामा पालिका स्तरिय वित्तीय संस्था र सरोकारवालाहरु संग सिसा परियोजनाको विषयमा भदौ ६ गते अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
सिरियल सिस्टम इनिटिएटिभ फर साउथ एसिया (कोभिड नाइन्टीन रिकवरी एन रीसीलेन्सको एक्टिभिटी)को आयोजना तथा ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बर्दिया जिल्लामा भएका साना, मझौला तथा ठुला एग्रोभेट लागायत कृषि परियोजनाको विषयमा भएका र आउने दिनहरुमा के कस्ता कृषि उपकरणहरुलाई प्रयोगमा ल्याउने र कसरी कृषकहरुको आयस्तरमा वृद्धी गराउन सकिन्छ भन्ने सम्बन्धमा वृहत छलफल भएको आयोजक संस्थाले जनाएको छ ।
कृषिसंग सम्बन्धित कार्यक्रममा गत वर्ष कोभिडका कारण केहि समस्या देखा परेको भए पनि अहिले निरन्तर रुपमा संचालन भई रहेको जनाइएको छ । सीसा परियोजनाले लुम्विनी प्रदेश सहित सबै प्रदेशमा कृषि सम्बन्धी कार्यक्रम संचालन गरि रहेको ठाकुरबाबा नगरपालिकाका कृषि उपशाखा प्रमुख ध्रुबराज बमले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि उपशाखा प्रमुख बमले कृषि ब्यवसाय संचालन गर्न चाहने कृषकहरुलाई प्रोत्साहान स्वरुप परियोजनाले आवश्यक पर्ने उपकरण सहयोग गरिरहेको बताउनुभयो ।
किसानहरुलाई प्रोत्साहन गर्ने र कृषि क्षेत्रलाई बजारीकरण गर्ने, कृषकहरुका लागि उधमशिल तालिम संचालन गर्ने, सीपमुलक तालिम संचालन गराउने, गाँउटोलमा रहेका कृषकहरुको तथ्याङ्क संकलन गर्न लगाई किसानहरुलाई आवश्यक पर्ने कृषि उपकरण विउविजन उपलब्ध गराउने, मलको उचित व्यवस्था मिलाउने, सिँचाई व्यवस्थाको बारेमा जानकरी गराउने, विदेशबाट फर्किएकाहरुलाई कृषि व्यवसाय संचालन गर्न आवश्यक परामर्श दिने जस्ता कार्यहरु परियोजनाले गर्दै आइरहेको कृषि उपशाखा प्रमुख वमले बताउनुभयो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका किसानहरुलाई उद्यमी बनाउनका लागि प्रविधिक मेसिनहरु दिएकोमा कुन ठाँउमा कति मात्रामा उपयोग भएको छ, सोको बारेमा विवरण पनि संकलन भइरहको बताईएको छ । यस्तै किसानहरुका लागि मेगा किसान कार्ड ४५ जना भन्दा बढि किसानहरुलाई वितरण गरिएको र यसले किसानहरुलाई कर्जासेवा प्रवाह गर्दै आइरहेको बताउँदै सो सेवा कसरी लिने भन्ने विषयमा पनि कार्यक्रममा छलफल गरिएको छ ।
मेगा किसान कार्डले किसानहरुमा थप कृषि ब्यवसाय संचालनमा टेवा पुर्याउने भएको छ । कार्डले किसानहरुलाई व्यवसाय संचालनमा आर्थिक सहयोग समेत गर्दै आईरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले कृषि क्षेत्रलाई जोड दिएर सम्मुन्नत ठाकुरबाबा, सम्मुनत नगरबासी बनाउनुपर्नेमा सवै जना एकजुट भएर लाग्नु पर्नुे बताउनुभयो ।