सुर्खेत र सल्यानमा आतंक मच्चाउने बाघ बर्दिया राष्ट्रिय निकुञ्जको नियन्त्रणमा
भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको चेपाङ्ग मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने भेरीगंगा नगरपालिका वडा नम्बर ५, गेरुवनी स्थित शक्ति मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आतंक मच्चाउने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । साउन २९ गते सुर्खेत भेरीगंगा नगरपालिका–५, बस्ने वर्ष ४६ का रामवहादुर चन्द र वर्ष ६७ कि कबि वलीको शक्ति मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस संकलन गर्न गएका बेला बाटेबाघको आक्रमणमा परी मृत्यु भएको थियो ।
बाघले आक्रमण गरी दुई जनाको मृत्यु भए पछि घटनास्थल क्षेत्रमा स्वचालित क्यामेराजडान गरी भौतिकरुपमा नियमित अनुगमन गरिँदै आएको थियो । नियमित अनुगमन पछि समस्याग्रस्त बाघको पहिचान गरी भदौ १ गते निकुन्ज सुरक्षार्थ तैनाथ नेपाली सेना, निकुञ्जका कर्मचारी, स्थानीय मध्यवर्ती उपभोक्ता समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाबाट खटिएको टोलीले सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ७, स्वामीबास वन क्षेत्रबाट समस्याग्रस्त पाटेबाघलाई डार्टमार्फत् लठ्याएर नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिईएको समस्याग्रस्त पाटेबाघलाई बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको खैरीपोष्ट नजिक रहेको खोरमा सुरक्षित साथ राख्न पठाईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनु भयो । नियन्त्रणमा लिईएको समस्याग्रस्त पाटेबाघ करिव १२ वर्षको पोथी रहेको छ । अधिकृत श्रेष्ठका अनुसार नियन्त्रणमा लिएको पाटेबाघ बुढो रहेको, स्वास्थ्यमा समस्या र दाँत तथा नंग्रा भाँचिएको अवस्थामा छ । निकुञ्जले हाल सम्म ७ वटा समस्याग्रस्त पाटेबाघलाई नियन्त्रणमा लिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविकमार्ग क्षेत्र अन्तरगतका विभिन्न ठाउँहरुमा तीन वर्षयता बाघको आक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा एक र रम्मापुरमा तीन वटा बाघ रहेका छन् ।